बिमस्टेक सम्मेलन नसकिँदै किन फर्किँदैछिन् बंगलादेशी प्रधानमन्त्री शेख हसिना ?

 भदौ १४, २०७५ बिहीबार १९:४९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनमा सहभागी हुन आउनुभएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्किने हुनुभएको छ । 

बिमस्टेकको चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दीगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिनुभयो । 

सम्मेलनको आयोजनाका लागि नेपाललाई आभार व्यक्त गर्दै १५ मिनेट मन्तव्य दिनुभएका उहाँले प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य प्रेरणादायी भएको बताउनुभएको थियो ।

बिहीबार सम्मेलनको उद्घाटन समारोह, राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको दिवाभोज तथा द्वीपक्षीय भेटवार्तामा सहभागी हुनुभएकी हसिना शुक्रबार बिहान ११: ४५ बजे नै स्वदेश फर्किने कार्यक्रम रहेको चौथो बिमस्टेक सम्मेलनको मिडिया सेन्टरले जानकारी दिएको छ । 

शुक्रबार मध्यान्ह १२ बजे बिमस्टेकको काठमाडौं घोषणापत्र जारी हुनुभन्दा पहिले नै बंगलादेशी प्रधानमन्त्री स्वदेश फर्कन लाग्नुभएको हो । कार्यक्रम छोट्याएर स्वदेश फर्कनुको कारण नखुलाइए पनि अहिले बंगलादेशमा चर्किरहेको विद्यार्थी आन्दोलन मुख्य कारण भएको बताइएको छ ।

केही दिनदेखि बंगलादेशको राजधानी ढाकाको सडकमा सडक दुर्घटना कम गर्न सवारीचालकको लाइसेन्स र सवारीसाधनको कडाईका साथ जाँच हुनुपर्ने माग गर्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन् । 

जसका कारण प्रधानमन्त्री शेख हसिना र उहाँको सत्तारुढ पार्टी अवामी लिग अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ । बंगलादेशमा २०१९ को सुरुवातमै आम चुनाव हुने अपेक्षा गरिएको छ । तर विपक्षी पार्टी बंगलादेश नेसनल पार्टीले भने आफ्नी नेतृ बेगम खालिदा जियालाई जेलमा राखेर गरिने चुनावमा आफू सहभागी नहुने चेतावनी दिएको छ । एकातिर विपक्षीको विरोध अर्कातिर विद्यार्थीहरुको चर्को विरोधका बीच हसिनाले चुनाव जित्न गाह्रो भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । 

पछिल्लो समय बंगलादेशमा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाइएको भन्दै विश्वसमुदायले शेख हसिना सरकारको आलोचना गरिरहेको छ । केही दिनअघि अलजजिरालाई अन्तर्वार्ता दिएकै कारण चर्चित फोटोपत्रकार शाहिदुल आलमलाई पक्राउ गरिएको भन्दै बंगलादेशी सरकारको व्यापक आलोचना भैरहेको छ । आलमलाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको हाे ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया