म्याग्दी : वर्षाले एउटा घर भत्कियो, पहिरो खस्दा दुई वटा सडक बन्द

 भदौ १३, २०७८ आइतबार १८:२:४९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ । वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री (सापकोटा) को ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।   

यसैगरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर क्षेत्रमा सडक बन्द भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक सूर्य थापाले बताउनुभयो । अहिले पनि वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको छ । 

पहिरो पन्छाउनका लागि सडक आयोजनाको डोजर, एक्स्काभेटर लगायतका सामान तयारी अवस्थामा राखिएको भए पनि निरन्तर पानी परिरहेको र पहिरो खस्ने जोखिम रहेकाले काम गर्न नसकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । 

यस्तै वर्षाकै कारण पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि बन्द भएको छ । यस खण्डको बेनी नगरपालिका ४ घुमाउने भिर तथा मालिका ६ दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक बन्द भएको हो । 

यस्तै बेनी–बागलुङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका २ खबराको भसभसेमा सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक बन्द भएको छ ।  

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया