गठबन्धनलाई फुटाउन देशभित्र र बाहिरबाट षड्यन्त्र भइरहेकाे छ : प्रचण्ड

 भदौ २३, २०७८ बुधबार १४:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरूले गरिरहेको बताउनुभएको हो । 

सुरेश वाग्ले र भीमसेन पोखरेलको २२ औँ स्मृति दिवसको अवसर पारेर बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने अडान पनि दोहोर्‍याउनुभयाे ।

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पार्नुभयो । तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोड्ने भनेर लागिपरेको उहाँको दाबी छ । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘यो गठबन्धनलाई तोड्ने षड्यन्त्र पनि भइराखेको छ, देशभित्र र बाहिरबाट । यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्ति गठबन्धन भनेका छौँ । यसलाई विभाजन के गरी गर्ने ? एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि ? भनेर एक थरी लागिरहेका छन् । हामी चाँहि यथास्थितिमा एमसीसी हुन सक्दैन भनी राखेका छाैँ । हामी सकेसम्म गठबन्धनलाई बचाएर यसको पनि समाधान सकारात्मक ढङ्गले होस् भन्ने चाहेका छौँ । तर अर्को वर्ग चुप लागेर बसेको छैन । अर्को वर्गमा पनि पूरै तागतका साथ यो गठबन्धन के गरी तोड्ने ? प्रतिक्रान्तिकारी के गरी निरन्तर अघि बढाउने ? माओवादीहरूलाई के गरी घेरा हालेर सिध्याउने भन्ने प्रयास पनि भइराखेको छ देशभित्र र बाहिर पनि ।’

उहाँले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनुपरेको पनि उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले नेकपा एमाले पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी पनि गर्नुभयो । मार्क्सवादी भन्न नहुने, राम, सीता र लक्ष्मणको मूर्ति बोकेर हिँड्ने अवस्था आएकाले एमाले पतनको ढिलमा पुगेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले एमाले नेतृत्वले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोपसमेत लगाउनुभयो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया