रुवी खानको अनशन तोडियो

 कात्तिक २, २०७८ मंगलबार १६:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा अनशन बस्नुभएकी महिला अधिकारकर्मी रुवी खानले अनशन तोड्नुभएको छ । 

पीडितको न्यायका लागि भन्दै १२ दिनयता अनशनरत महिला अधिकारकर्मी रुवी खानले सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनशन तोड्नुभएको हो । सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य अधिकृत रहनुभएको छ ।

खानलाई मानव अधिकार आयोगकी पूर्व–सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनशन तोडाउनुभएको हो । अनशन तोडेपछि उहाँले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताउनुभयो ।

खानले भन्नुभयो, ‘समितिले यथार्थ बाहिर ल्याउन कुनै कञ्जुस्याइँ गर्छ भने हामी यो भन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु । यी दुई घटना प्रतिनिधिमूलक मात्रै हुन्, देशका जति पनि महिलाहरू हिंसामा पर्नुभएको छ, हिंसाबाट मारिनुभएको छ, उहाँहरूको न्यायका लागि म आमरण अनशन बसेकी हुँ, हाम्रो आन्दोलन उहाँहरूका लागि हो, महिलाहरूको न्यायका लागि हो ।’

न्यायका लागि रुवी खान लगायतको टोलीले आमरण अनशन बसेको १२ दिनमा अनशन तोडेको हाे । आयोगले अपराधीलाई कानुन बमोजिमको सजाय दिलाउने विश्वास दिएपछि खानले आमरण अनशन तोड्नुभएको हो । उहाँले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको मागसमेत गर्नुभएकाे छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया