विस्‍फाेटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धामा प्रकाण्डलाई भोजपुर ल्याइयो

 भदौ १९, २०७५ मंगलबार २०:३८:४८ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ लाई मंगलबार भोजपुर ल्याइएको छ । 

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट प्रकाण्डलाई विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा भोजपुर ल्याइएको हो । 

अहिले धनकुटा र भोजपुरको सिमाना कटाइएको र प्रकाण्डलाई प्रहरीले मध्यरातसम्म भोजपुर ल्याइपुर्‍याउने स्रोतले जनाएको छ । 

जिल्ला अदालत भोजपुरले तीनवटा मुद्धामा पक्राउ आदेश जारी गरेका कारण ’प्रकाण्ड’ लाई अदालतमा उपस्थित गराउन भोजपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ । प्रकाण्डविरुद्ध विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्धा दर्ता भएर अदालतले वारेन्ट जारी गरेको कारण जिल्ला अदालत भोजपुरमा पेश गरिने छ । 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ’ख’ का तत्कालीन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर सकेट बम विष्फोट गराइएको थियो । 

भोजपुरको तत्कालीन कोट गाविस र अहिलेको ट्याम्केमैयूम गाउँपालिका–६ मा रहेको गुम्बा डाँडामा गएको कात्तिक २८ गते विष्फोट गराइएको थियो ।

विष्फोटमा राईको सुरक्षाका लागि खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोभर जीप विष्फोटमा परेर क्षतिग्रस्त भएको थियो । 

त्यसपछि प्रहरीले २१ राउण्ड गोलीसमेत चलाएको थियो । भोजपुरबाट निर्वाचित राई अहिले प्रदेश १ का मुख्य मन्त्री हुनुहुन्छ । विष्फोट ’विप्लव’ समूहले गराएको प्रहरीले बताउँदै आएको थियो । यही घटनलाई लिएर ’प्रकाण्ड’सहित नेकपा विप्लवका नेता कार्यकर्ता विरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो ।  

यस अघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनी सहित ’विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ’विकास’, देवान राई ’दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।

प्रकाण्डसहित सबैका नाममा जिल्ला अदालतले वारेन्ट पनि जारी गरिसकेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया