वीपी प्रतिष्ठान : छानबिन आयाेगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायाे

 कात्तिक २६, २०७८ शुक्रबार १४:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । 

आज शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा स्वास्थ्य मन्त्री खतिवडाले अबको हप्ता दिनभित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो । उहाँले यो प्रतिवेदन यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षका कुराहरूलाई छलफल गरेर बनाइएको बताउनुभयो ।

स्वास्थ्य मन्त्री खतिवडाले हप्ता दिनमा प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताउनुभयो । उहाँले सिनेटले प्रतिवेदनमा पेस भएको कुरालाई आधार मानेर नै निर्णय लिने पनि बताउनुभयो ।

स्वास्थ्य मन्त्री खतिवडाले भन्नुभयो, ‘वीपी कोइराला प्रतिष्ठानलाई लिएर आयोग बन्नुको अर्थ नै त्यहाँ केही न केही समस्या थियो भन्ने कुरा त पुष्टि हुन्छ । तीन सदस्यीय आयोग बनेको थियो, जसमा यस मन्त्रालयका सचिव र धरान नगरपालिकाका मेयर, मेरो अध्यक्षतामा कुलपति प्रधानमन्त्रीले गठन गर्नुभएको थियो । हामीलाई २१ दिनको समय दिइएको थियो, ५ गते हामीले प्राप्त गरेका थियौँ, त्यही हिसाबले २१ दिनभित्रै हामीले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायौँ । हामीले यो प्रतिवेदन तयार गर्ने क्रममा धरानमा रहेकाे प्रतिष्ठानमै गएर आन्दोलनरत पक्ष, त्यहाँ जसको विरुद्धमा आन्दोलन भएको थियो ती पदाधिकारी, शिक्षक र विद्यार्थी, कर्मचारी, धरान नगरपालिकाका मेयरसहित जनप्रतिनिधि, विभिन्न राजनीतिक  दलका प्रतिनिधिलाई समेटेर प्रतिवेदन बनाएका छौँ । नियमावलीअनुसार बैठक बोलाउनुपर्ने अवधि पाँच/सात दिनको समय दिएर सिनेटको बैठक बोलाउँछौँ, प्रधानमन्त्रीजीले बोलाउनुहुन्छ, त्यहीबाट नै यस प्रतिवेदनलाई आधार मानेर हामी निर्णयमा पुग्छौँ, २५ प्रतिशत सदस्य अर्थात् ६ जनाले त्यहाँ भइरहेका अनियमितताको बारेमा छानबिनको माग गरेपछि आयोग गठन भयो, प्रतिवेदन बुझाउँदा योभन्दा अघिका प्रतिवेनलाई पनि आधार मानेका छौँ ।’

स्वास्थ्य मन्त्री खतिवडाको अध्यक्षमा बनेको छानबिन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका मेयर तिलक राई हुनुहुन्छ । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् ।  आन्दोलन थप चर्किँदै गएपछि सरकारले वार्ता टोली गठन गरेर प्रदर्शनकारीकाे माग सम्बोधन गर्ने सहमति गरेको थियो ।  

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया