नेकपा मालेको महासचिवमा फेरि मैनाली

 कात्तिक २९, २०७८ सोमबार २०:२६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा फेरि सीपी मैनालीलाई चयन गरेको छ । महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै आज साेमवार बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो । 

कात्तिक २७ देखि आजसम्म सञ्चालन भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय समितिको सङ्ख्या थप गरी ८१ पुर्‍याएकाे छ । आउँदाे पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिनुभयो । महाधिवेशनमा 'नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद र राजनैतिक प्रतिवेदन' महासचिव मैनालीलले प्रस्तुत गर्नुभएको थियो ।

स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा सङ्गठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दीननाथ घिमिरेद्वारा सङ्गठनात्मक प्रतिवेदन पेस भएकाे थियो । पेस गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले जानकारी दिनुभयो । महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भइ सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख बनाउनुपर्ने निर्णय गरेको छ । विधान संशोधन गरी सानो आकारको मन्त्रिपरिषद्को व्यवस्था हुनुपर्ने मालेले भनेको छ ।

महाधिवेशनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महासचिव मैनालीले मालेलाई नागरिककाे पार्टी बनाउने बताउनुभयो । अहिलेको बाटो सबै कम्युनिस्टकाे मार्क्सवादी बाटो रहेको भन्दै उहाँले गलत सोच लिएर हिँड्नेले देशका लागि काम गर्न नसक्ने बताउनुभयो । नयाँ शक्तिलाई लिएर देश र नागरिककाे आवश्यकताअनुसार, देश र जनताले मागेअनुसार परिवर्तन दिने पार्टीको रूपमा मालेलाई अघि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया