महाधिवेशनले पार्टी अध्यक्षमा केपी ओलीलाई नै सर्वसम्मत चयन गर्नेछ : सचिव भट्टराई

 मंसिर ३, २०७८ शुक्रबार १८:२४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताउनुभएको छ । सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताउनुभएको हो ।

आज शुक्रवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विगतका आठौँ र नवौँ महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौँ महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढङ्गले चयन गर्नुपर्नेमा आफूहरूकाे जोड रहेको तर्कसमेत गर्नुभयो । सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताउनुभयो । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरू जो कोहीले पनि नेतृत्वको दाबी गर्न पाउने उहाँले स्पष्ट पार्नुभयो । 

सचिव भट्टराईले भन्नुभयो, ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने– यस पटक सर्वसम्मत ढङ्गले नेतृत्व चयन गर्ने । किनभने हामीले आठौँ र नवाैँ  महाधिवेशनमा खुला चुनाव गर्‍याैँ, त्यो चुनावको असल पक्ष पनि थिए तर त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो । समूहबन्दीको अवस्था ल्यायो । पार्टी विभाजनसम्म हामी भोगिराखेका छौँ । यो तितो अनुभवबाट शिक्षा लिँदै यस पटक हाम्रो जोड छ कि– पार्टीमा सहमतिका साथ नेतृत्व चयन गर्ने । एसो गर्दा ए, बी, सी जो पनि हुन सक्छ । त्यो हाम्रो कोसिस छ र त्यो भएन भने हरेक मान्छेले आफूले चाहेको ठाउँमा प्रतिस्पर्धा गर्न पाउँछ । त्यसको निम्ति कुनै बन्देज छैन ।’

सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरू रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरू सबैको सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया