सहयोग खोज्दै हुम्लाबाट सिंहदरबार आइपुगेका वडाध्यक्ष दंग, लिमीमा पर्सिसम्ममा खाद्यान्न पुग्ने

 मंसिर ८, २०७८ बुधबार ९:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – केन्द्र सरकारलाई गाउँको पीडा बिसाउन पाउँदा हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङको मन हलुको भएको छ  । भोकमरीको अवस्थामा पुगेको आफ्नो गाउँमा खाद्यान्न पुग्ने भएपछि उहाँ उत्साहित हुनुहुन्छ ।

विकट गाउँको पीडा सिंहदरबारसम्म ल्याएर पोख्न सजिलो भने भएन । पाँच हजार मिटर उचाइको न्यालुलेकमा तीन फिट जमेको हिँउमा जोखिमपूर्ण पैदल यात्रा गरेर हुम्लाको सदरमुकाम सिमकोट आइपुग्नै पाँच दिन लाग्यो । ‘धन्न यो यात्रामा हुम्लाका सांसद छक्कबहादुर लामाको साथ थियो । र त बाटो कटाइको पीडाले उति साह्रो गाह्रो भने पारेन’ उहाँले उज्यालोसँग भन्नुभयो । 

पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ र सांसद लामा अस्ति बेलुका काठमाण्डौ आइपुग्नु भएको थियो ।  हिजो दिउँसो उहाँहरु गृह मन्त्रालय पुग्नु पुग्नुभयो । भोकमरीको समस्या समाधान गरी पाउँ भन्दै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई ज्ञापनपत्र बुझाउनुभयो । गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत आफ्ना वडाका तीन बस्ती तिल, जाङ र हल्जीमा पर्सिसम्म खाद्यान्न पुर्याउने बताए पछि उहाँको मनको पीडा हलुका भयो । 

‘सम्बन्धित निकायले हाम्रा कुरा सुन्लान् वा नसुन्लान् मनमा निकै द्विविधा थियो । तर पुग्नासाथ आशंका हटेर गयो । पर्सि भोकमरीको संकट हुने अवस्था आएको हुम्लाको लिमीमा चार सय ६० क्विन्टल चामल पुग्छ । गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत हिल्सा नाकामा अड्किएको खाद्यान्न लिमी पुर्याउने भएसँगै लिमी बस्तीमा खाद्यान्न पुग्ने भएको हो । यसले आगामी चैतसम्म भोक टर्नेछ’ उहाँले खुशी हुँदै भन्नुभयो ।

गाउँ फर्कंदा सरकारले व्यवस्था गरिदिएमा थप खाद्यान्न लैजाने उहाँको सोच छ । आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा हुम्लापारिबाट आएको राहतले मात्रै नपुग्ने भएकाले बाँकी समयका लागि भने आफू गाउँ फर्कदा थप तीन सय क्विन्टल चामल सँगै लगेर जाने उहाँको तयारी छ ।

राज्यको दायित्वभित्र पर्ने काम गराउन र नागरिकले स–साना गुनासा सुनाउन पनि सिंहदरबार धाउनु पर्ने परेको भन्दै उहाँले यस्तो प्रवृत्तिको अन्त्य हुनु  पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘नागरिकका दुःखलाई आफ्नै दुःख सम्झिदेऊ न सरकार !’ 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया