एमाले महाधिवेशन : चार देशका विदेशी पाहुना सहभागी हुने

 मंसिर ९, २०७८ बिहीबार १७:८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने भएका छन् । 

महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने पक्का भएकाे बताएको हो । यसका साथै २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

विदेशी पाहुनाहरूलाई काठमाण्डाैमा रहँदा होटल सोल्टीमा बसोवासको व्यवस्था गरिएको र मङ्सिर ९ गते (बिहीवार) बेलुकी एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रिभोजको आयोजना गर्नुभएकाे जनाइएको छ । विदेशी पाहुनाहरूले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरूसँग मङ्सिर १२ गते बिहान चितवनमा संयुक्त 'ब्रेकफास्ट मिटिङ' गर्ने कार्यसूची रहेको छ । अतिथि सत्कार समितिको अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जङ्गल रिसोर्टमा बसोवासको व्यवस्था मिलाइएको छ । त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ ।

महाधिवेशनमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई निमन्त्रणा गरिएको भए पनि अहिलेसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागी हुने जानकारी गराउनुभएको एमाले दशौँ राष्ट्रिय महाधिवेशन अतिथि सत्कार समितिले जानकारी दिएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया