प्रचण्डलाई ओलीकाे प्रश्न : १०–१० हजार बाँडेर पूर्वलडाकुकाे व्यवस्थापन हुन्छ ?

 मंसिर १०, २०७८ शुक्रबार १९:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्ग्याउन नचाहेको आरोप लगाउनुभएकाे छ । पार्टीकाे दशाैँ महाधिवेशनकाे उद्घाटन समाराेहलाई आज शुक्रवार सम्बाेधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । 

राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूकाे उपचार गर्न र समस्यामा परेकाहरूको समस्या समाधान गर्न पनि उहाँले अध्यक्ष दाहाललाई चुनौती दिनुभयो । 

यस्तै एमाले अध्यक्ष ओलीले पार्टीकाे महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्वलडाकुलाई पार्टीमा प्रवेश गराउने तयारी रहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हिजो सशस्त्र द्वन्द्वका घाउहरू पुछ्नु छ हामीले । अहिलेसम्म पनि शान्ति प्रक्रिया टुङ्गिएको छैन । नेकपा माओवादी केन्द्र प्रचण्डजीको नेतृत्वमा छ । अहिले पनि शान्ति प्रक्रिया किन टुङ्गो लगाउनु हुन्न उहाँहरू ? उहाँहरू टुङ्गो लगाउनु हुन्न । किन घाइतेहरूको बन्दोबस्त गर्नु हुन्न ? जेलमा रहेका झुटा मुद्दाहरू किन खारेज गर्नु हुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुहरूको व्यवस्थापन हुँदैन ? किन हुँदैन ? अनि मन परेका मान्छेलाई १०–१० हजार रुपैयाँ बाँड्ने रे ! १०–१० हजार मन परेको मान्छेलाई बाँडेर यो समस्याको समाधान हुन्छ ? घाइतेलाई उपचार गर्नुस्, समस्यामा परेकाको समस्या हेर्नुस् । हिजो घरबारविहीन भएका, अङ्गभङ्ग भएकाहरूलाई रोजगारी दिनुस् । तपाईँ सरकारमा हुनुहुन्छ, हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । अनि आज म प्रधानमन्त्री नभए पनि यो सरकार मेरो हातको कठपुतली हो म नचाइदिन्छु, मै शक्तिशाली, मै पावरफुल भन्दै हुनुहुन्छ । किन पावर देखाउनु हुन्न त ? पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका । म भन्न चाहन्छु, अब यो महाधिवेशन अन्त्य हुनेबित्तिकै, महाधिवेशन सम्पन्न हुनेबित्तिकै हामी पूर्वलडाकुहरूको व्यवस्थापन गर्नेछौँ । पूर्वलडाकुहरू नेकपा एमाले प्रवेश गर्दै हुनुहुन्छ ।’  

अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट उच्चस्तरको सहमति र लोकतान्त्रिक प्रक्रियाका साथ नेतृत्व चयन गर्ने बताउनुभयो । महाधिवेशनको बन्द सत्रले एमाले पार्टी मात्रै नभइ पाँच वर्षका लागि देशलाई नै बाटो देखाउने र हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले सानातिना अन्तरविरोधहरूमा नअल्झिइ एकताबद्ध भएर देश निर्माणको अभियानमा लाग्न पार्टीका नेता/कार्यकर्तालाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया