एमाले महाधिवेशनको बन्द सत्र सुरू, नेतृत्वमा सहमतिका लागि प्रतिनिधिकाे दबाब

 मंसिर ११, २०७८ शनिबार १४:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको दशाैँ महाधिवेशनकाे बन्द सत्र सुरू भएको छ । बिहान ८ बजेदेखि बन्द सत्र सुरू गर्ने कार्यतालिका भए पनि ढिलो गरी दिउँसो साढे एक बजेदेखि सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली सौराहाको बन्द सत्र हुने हलमा पुग्नुभएको छ । बन्द सत्रमा विभिन्न देशबाट आएका दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, गएराति केन्द्रीय कमिटी बैठकले गरेका निर्णय पनि अनुमोदन गर्नेछ । केन्द्रीय कमिटी बैठकले २ उपाध्यक्ष र २ उपमहासचिव पद थप गरेको थियो । त्यस्तै पदाधिकारी संख्या बढाउने निर्णय गरेको थियो ।

बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो ।  बन्द सत्रबाटै नयाँ नेतृत्व चयन हुनेछ । आज पनि पार्टीका अध्यक्ष ओलीले सर्वसम्मतिमा नेतृत्व चयनका लागि नेताहरूसँगकाे छलफललाई निरन्तरता दिनुभएको छ । सकेसम्म सबै पदाधिकारी सहमतिमा टुंगो लगाउने नभए नेतृत्वमा सहमति जुटाउने प्रयास भए पनि उपाध्यक्ष भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।

सहमति नभए चुनाव गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ । आज बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको छ । आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ । एमाले सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको प्रतिक्रिया दिनुभएको छ ।

सर्वसम्मत नेतृत्व चयनको माग गर्दै प्रतिनिधि तथा युवा–विद्यार्थी नेताले सौराहामा प्रदर्शन गरेका छन् । उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनितसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् । एमाले महाधिवेशनको उद्घाटनसत्र हिजो नारायणी नदी किनारमा भएको थियो ।       
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया