चिलिमे–त्रिशूली 'थ्री बी' हब प्रसारण लाइन र सबस्टेशनकाे काम साउनभित्र सक्न निर्देशन

 मंसिर १२, २०७८ आइतबार १८:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रसुवा, नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेशनहरूको काम ६० प्रतिशत सकिएको छ । प्रसारण लाइनको निर्माण आउँदाे साउनभित्र सक्ने गरी काम धमाधम भइरहेको छ ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकामा रहेकाे थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिसूली थ्री बी हब सबस्टेशन निर्माण भइरहेको छ । साथै चिलिमे –त्रिशूली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन् ।

दुवै सबस्टेशनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेशनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस लगायतका महत्त्वपूर्ण उपकरणहरूको आपूर्ति ६५ प्रतिशत भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ६ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ ।

भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुङ्गा, गिट्टी, बालुवा, टावरका सामान, पानीलगायत मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढी–पहिरोकाे असर, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयवासीको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनिज र परामर्शदाता पावर ग्रिड भारत हुन् ।  

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेशन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा काममा ढिलाइ नगर्न र कामदार थपेर कामलाई तीव्रता दिन आग्रह गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धताअनुसार निर्माण जतिसक्दो छिटाे सम्पन्न गर्न आग्रह गर्नुभयो । ‘यसै प्रसारण लाइनमा जोडिने तीन वटा जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा छ, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौँ भन्दै हात उठाएर हिँड्नुहोस्’,उहाँले भन्नुभयो, ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्नेछौँ, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्नेछ ।’

नागरिककाे जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिने छ । प्रसारण लाइन अभावमा आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो ।

टोलीले प्रसारण लाइन निर्माणमा आमाछोदिङमो गाउँपालिका १ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै गर्दै आएको अवरोधलाई हटाउन छलफल गरेको थियो । गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिण्डु तामाङ र स्थानीयवासीसँग हाकुमा छलफल गरिएको थियो । प्रसारण लाइनको अभावमा रसुवावासीको पनि लगानी रहेको आयोजनाको बिजुली खेर जाँदा यसबाट कसैले प्रतिफल नपाउने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले काममा अवरोध नगरि निर्माण कार्यमा सहभागी भइ जतिसक्दो छिटाे काम सक्न दिन आग्रह गर्नुभयो । हाकु क्षेत्रमा १२ वटा टावर निर्माण गर्नुपर्नेछ । अहिले दुई वटा टावरको निर्माण सुरु भएको छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवम् जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया