एमाले महाधिवेशनकाे बन्द सत्र बेलुका ७ बजे सुरु हुने

 मंसिर १२, २०७८ आइतबार १७:११:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र आज बेलुका सात बजे सुरु हुने भएको छ । बिहान १० बजे सुरु हुने कार्यतालिका रहेको बन्द सत्र नौ घण्टा ढिलो गरी सुरु हुने भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सर्वसम्मत गर्ने भन्दै दिनभरि तयारी गरेपछि बन्द सत्र सुरु हुन ढिलाइ भएको हो । ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई पदाधिकारी र केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाउन जिम्मेवारी दिनुभएको थियो । निर्देशनअनुसार चार जनाले नाम टुङ्गो लगाएर अध्यक्ष ओलीलाई बुझाइसकेका छन् ।

सूचीलाई ओलीले अन्तिम रूप दिएपछि बन्द सत्रमा पेस गर्ने तयारी छ । तर अध्यक्षमा उम्मेदवारीकाे घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल लगायतका नेताहरूले भने सहमतिका नाममा अध्यक्ष ओलीका नजिकका मान्छेलाई मात्रै पद दिने तयारी गरेको भन्दै विरोध गरेका छन् । उनीहरूले जसरी पनि चुनाव हुनुपर्ने अडान लिएका छन् ।

यस्तै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिन खोज्नुभएको छ तर सुवास नेम्वाङले पनि अडान छाड्नुभएको छैन् । नेम्वाङले आफू नै वरिष्ठ उपाध्यक्षको दाबेदार भएको भन्दै अडान यथावत् रहेको सन्देश ओलीलाई दिनुभएको छ । तर सहमतिको नाममा समय बित्दा निर्वाचनको कार्यतालिका पनि प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकासन भइसक्नुपर्ने थियो ।

एमालेमा अबको पाँच वर्षका लागि नेतृत्व छान्न देशभरिबाट दुई हजार एक सय ७५ प्रतिनिधि चितवनको सौराहामा छन् । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया