कांग्रेस महाधिवेशन उद्घाटनमा ४ लाख मानिस सहभागी हुने

 मंसिर २३, २०७८ बिहीबार १८:२७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

आज बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाण्डाै जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटनलगायतका कामकाे तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । उहाँले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राति १० बजेसम्ममा सकिने बताउनुभयो ।

संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रीय अधिवेशनतर्फ लाग्नुपरेका कारण काम केही ढिला भएको बताउनुभयो । उहाँले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताउनुभयो । उहाँले पार्टीको महाधिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताउनुभयो ।

संयोजक पुडासैनीले भन्नुभयो, ‘अब हामी तयारीको अन्तिम स्थितिमा पुगेका छौँ । मञ्च तीन चरणमा छ, पहिलोमा सांस्कृतिक सङ्घको कार्यक्रम हुन्छ जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुति दिने गरी व्यवस्था गरेका छौँ । मञ्चकाे दोस्रो चरणमा पार्टीका शीर्ष नेता, अन्य पार्टीका शीर्ष नेता, विदेशी पाहुनालाई राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिलाई राख्नेछौँ । सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्नेछौँ । महाधिवेशनमा साढे तीन लाखदेखि चार लाख जना मानिस सहभागी हुन्छन् ।’

नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन भाेलि शुक्रवारदेखि सुरु हुँदैछ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया