नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेकाे छ : ओली

 मंसिर २४, २०७८ शुक्रबार १५:५४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताउनुभएको छ । आज शुक्रवार नेकपा एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीले काठमाण्डाैमा आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्य, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विदेशी शक्तिले नेपालमा नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको बताउनुभएको हो ।

नेपालमा कुटनीतिक क्षेत्रमा काम गरेर फर्किएका एक कुटनीतिज्ञले लेखेको पुस्तकले याे कुरा स्पष्ट पारेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा अराजकता भित्रिन नदिने एमाले भएकाले पुस्तकमा एमाले र आफूविरुद्ध लेखिएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा नेपालमै लामो समय कुटनीतिक सेवा गरेर फर्किएका एक विदेशीले किताब निकालेका छन्, त्यो किताब पहिलो कुरो एमालेविरुद्ध छ । अलिक राम्रैसँग मेराविरुद्ध छ । उनको उद्देश्य नेपालमा नियन्त्रित अराजकता फैलाउने हाे । एउटा कुटनीतिज्ञले लेखेर, हेरेर, पढेर फेरि विचार गरेर, सम्पादन गरेर प्रकाशित गरेको पुस्तकमा नियन्त्रित अराजकता हामी नेपालमा ल्याउँछौँ अथवा हाम्रो उद्देश्य नियन्त्रित अराजकता हो भन्ने छ । त्यसको बाधक नेकपा (एमाले) हो, जसले नियन्त्रित अराजकता र अराजकता ल्याउन दिँदैन । उसले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्छ । हामी नेपाललाई कसैकाे हातको नियन्त्रित ढङ्गको अराजकता, अस्थिरताजस्ता कुराहरू यहाँभित्र पस्न दिदैनौँ, खेल्न दिँदैनौँ । खेलिहाल्यो भने पराजित गर्नेछौँ ।’

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टिकोण हुनुपर्ने बताउनुभयो । एमालेको 'समृद्ध नेपाल, सुखी नेपाली' को स्पष्ट दृष्टिकोण भएको उहाँको भनाइ छ । एमालेको दृष्टिकोणलाई संशोधन गरेर 'समुन्नत नेपाल : सम्मानित नेपाली' बनाइएको उहाँले टिप्पणी गर्नुभयो । हिजाे बिहीवार नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका नेता गगन थापाले 'समुन्नत नेपाल : सम्मानित नेपाली' को नारा अघि सारेका थिए । ओलीले त्यही नाराप्रति टिप्पणी गर्नुभएकाे हाे । 

उहाँले अब बस्ने केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण काम गर्ने उल्लेख गर्नुभयो । एमालेलाई आराम गर्ने फुर्सद नभएको भन्दै सक्रियतापूर्वक काममा लाग्न अध्यक्ष ओलीले नेताहरूलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया