बलिया देशसँग सुखद नतिजा निकाल्ने लक्ष्यमा नेपाली युवा टोली

 मंसिर २९, २०७८ बुधबार २०:३९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली युवा टाेलीले तयारीलाई तीव्रता दिइरहेको छ । 

उमेर समूहका प्रतियोगितामा कुनै समय बलियो देशको परिचय पाएको नेपालले प्रतियोगितामा बलिया देशसँग प्रतिस्पर्धा गर्दैछ । विश्व कपपछिकै ठूलो प्रतियोगिताको रूपमा हेरिने एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्व विद्यालयको मैदानमा तयारीलाई तीव्रता दिइरहेको छ । 

यू–१९ उमेर समूहका खेलमा बलियो देशको परिचय बनाएको नेपालले एक हप्तापछि यूएईमा एसीसी यू–१९ एसिया कप खेल्दैछ । 

कोरोना महामारीका कारण तय भएका केही अन्तर्देशीय प्रतियोगितामा सहभागी हुन नसकेको अवस्थामा नेपालले झन्डै दुई वर्षपछि अन्तर्देशीय भ्रमण गर्न लागेको हो । 

एसिया कपमा टेस्ट मान्यता प्राप्त देश बङ्गलादेश, श्रीलङ्का र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । त्यस कारण एसिया कपलाई विश्व कपपछिकै ठूलो प्रतियोगिताका रूपमा हेरिने गरेको छ । 

भर्खरै सम्पन्न यू–१९ प्रतियोगिताबाट छनोट भएका युवा खेलाडीले तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यका साथ अभ्यासलाई तीव्रता दिइरहेका हुन् । 

नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका प्रशिक्षक वसन्त शाही ठकुरीले छोटो समयको तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यका साथ खेलाडीले मेहनत गरिरहेको र सेमिफाइनलसम्मको लक्ष्य भएको बताए ।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताले युवा खेलाडीलाई खेल सुधारका लागि निकै सहयोग पुगेको भन्दै प्रशिक्षक शाही युवा खेलाडीहरू रहेका कारण टिम सन्तुलित रहेको र बलियो देशसँग राम्रो चुनौती दिनेमा आशावादी छन् । 

मुख्य प्रशिक्षक शाहीले यू–१९ प्रतियोगितामा राम्रो ब्याटिङ गरेका खेलाडीहरू टिम समेटिएको भन्दै ब्याटिङ पक्षमा कमजोरी नभएको बताए । तर खेलाडीको फिटनेस र बलिङमा अझै सुधार गर्नुपर्ने बताएका छन् । त्यसका लागि केही दिन बाँकी रहेको भन्दै प्रतियोगिताको मितिसम्म सुधार हुने शाहीले अपेक्षा राखेका छन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले बलिया देशसँग खेल्नु एउटा अवसरको रूपमा हेरिएको छ । समूह चरण पार गरे नेपालले अन्य एसियाली सुपर पावर टेस्ट देशहरू– भारत, पाकिस्तान वा अफगानिस्तानको सामना गर्नेछ ।

नेपाली टोलीका प्रभावशाली खेलाडी देव खनाल पनि प्रशिक्षकले भने जस्तै अहिलेको टोलीमा दुवै ब्याटिङ र बलिङ पक्षमा सबल भएको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी छन् । भर्खरै सम्पन्न यू–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका देव खनालले व्यक्तिगत प्रदर्शनलाई प्रतियोगिताले राम्रो गर्न हौसला मिलेको बताए ।

अर्का खेलाडी शेर मल्लले घरेलु प्रतियोगितामा गरेको प्रदर्शनलाई अन्तर्देशीय खेलमा पनि निरन्तरता दिँदै टोलीलाई सुखद नतिजा दिलाउन सहयोग गर्ने बताए । वर्षाका कारण विश्व कप छनोट खेल गुमाएको पीडालाई भुलाउने लक्ष्य र आईसीसीलाई दाबेदार टोली गुमाउन परेको सन्देश दिन चाहेको बताए ।

डिसेम्बर २३ बाट यूएईमा हुने प्रतियोगितामा आठ टोली एक दिवसीय संरचनामा प्रतिस्पर्धा गर्नेछन् । आयोजकले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदैछ । जसमा नेपाल समूह 'बी' मा रहेको छ ।  

समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध डिसेम्बर २३ यूएईकाे शारजाहमा खेल्नेछ । दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । 

यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ । यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ र फाइनल खेल जनवरी १ मा हुनेछ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया