१३ सदस्यीय पदाधिकारीमा देउवालाई बहुमत

 पुष २, २०७८ शुक्रबार १८:५२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको सहमहामन्त्री पदको मतगणना सकिएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको छ । आज शुक्रवार पाँच जना सहमहामन्त्रीको नतिजा आएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको हो ।

सभापति पदमा दोहोरिनुभएका शेरबहादुर देउवाले आफूले सोचेजस्तो समूह नबने पनि पदाधिकारीमा बहुमत भने पुगेको छ । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव देउवा समूहबाट निर्वाचित हुनुभएको हो ।

यस्तै डा. शेखर कोइराला समूहबाट उपाध्यक्ष धनराज गुरुङ र महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियार निर्वाचित हुनुभएको छ । विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट चुनावी प्रतिस्पर्धामा आएर महामन्त्रीमा विजयी हुनुभएको छ । सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरेपछि देउवा समूहले शर्मालाई पनि आफ्नै समूहको दाबी गरेको छ ।

कांग्रेस पदाधिकारीमा महिलाको प्रतिनिधित्व भने महिला 'क्लस्टर' बाटमात्र बनेको छ । आज भएको सहमहामन्त्री पदको मतगणनामा मधेशीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिमतर्फ फरमुल्लाह मन्सुर विजयी हुनुभएको छ । मधेशीतर्फ महेन्द्र यादवले दुई हजार २६ र उहाँका नजिकका प्रतिद्वन्दी रामकृष्ण यादवले एक हजार आठ सय २० मत प्राप्त गर्नुभयो । थारुतर्फ उमाकान्त चौधरीले दुई हजार पाँच सय ४५ र तेजुलालले एक हजार सात सय ७२ मत प्राप्त गर्नुभएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

यस्तै पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डेले दुई हजार चार सय ११ र जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गर्नुभयो । मुस्लिमतर्फ फरमुल्लाह मन्सुरले दुई हजार सात सय ७६ र शेख वकीलले एक हजार आठ सय ७५ मत प्राप्त गर्नुभयो ।

यस्तै खस/आर्यतर्फ किशोरसिंह राठौरले दुई हजार पाँच सय ७६ र देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गर्नुभयो । यसअघि हिजो महिलातर्फ महालक्ष्मी उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया