चुनावपछि विशेष महाधिवेशन गर्छाैँ, माओवादीलाई एक नम्बर बनाएरै छाड्छाैँ : प्रचण्ड

 पुष १६, २०७८ शुक्रबार १८:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नाे प्रतिवेदनमा उठेकाे प्रश्नकाे आज शुक्रवार जवाफ दिँदै उहाँले चुनावपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाउनुभयो । 

अध्यक्ष प्रचण्डले अहिलेको महाधिवेशन विचार निर्माण र नेपाली मौलिकतासहितको समाजवादी कार्यक्रम निर्मााणका लागि प्रस्थान विन्दु भएको निष्कर्ष सुनाउँदै विशेष महाधिवेशनमा पुगेर एउटा निष्कर्ष निकालिने बताउनुभयो । 

समूहगत छलफलका क्रममा समेत नेता तथा कार्यकर्ताले विचार निर्माणका लागि अझै वृहत् र घनीभूत छलफलको आवश्यक रहेको भन्दै विशेष महाधिवेशन वा त्यस्तै विशेष प्रकारको भेला आवश्यक रहेको धारणा राखेका थिए । त्यही धारणालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।

प्रतिवेदन सर्वसम्मतिले पारित

यसैबीच अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले गएकाे साेमवार उहाँले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो । 

महाधिवेशनको बन्द सत्रको पहिलो दिन सोमवार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेस गर्नुभएको थियो । यस्तै त्यही दिन स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामा प्रस्तुत गर्नुभएको थियो । 

मङ्गलवार र बुधवार दिउँसाेसम्म समूहगत छलफल भएको थियो । छलफलका लागि विभिन्न २५ समूह निर्माण गरिएका थिए । समूहको संयोजन गर्ने जिम्मेवारी समेत नेताहरूलाई दिइएको थियो । बन्द सत्रमा नेताहरू हरिबोल गजुरेल, राम कार्की, लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणीमूलक पूरक प्रतिवेदन पेस गर्नुभएको थियो । 

बन्द सत्रको आजको सत्रमा अध्यक्ष प्रचण्डले सबैको विचार र भावनालाई समेटेर प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभयो । उहाँले सबैको सुझावलाई आत्मसात् गर्दै पार्टीलाई अझै स्पष्ट र भरोसायोग्य बनाउने बताउनुभएको थियो । नेता तथा कार्यकर्ता तहबाट उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएपछि अध्यक्ष मण्डलका तर्फबाट निर्णयका लागि प्रस्तुत गरिएको थियो । 

अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्द सत्रको हलले सर्वसम्मतिले पारित गरेको हो । अध्यक्ष प्रचण्डले सबै पक्षको भावनाअनुसार पार्टीलाई थप बलियो बनाउने विश्वास दिलाउँदै एजेन्डा, कार्यक्रमका हिसाबले पनि माओवादी नै अब्बल रहेको बताउनुभयो । उहाँले माओवादी एजेन्डामा नै देश अगाडि बढिरहेकाे दाबी गर्दै यसलाई थप विस्तार गर्दै पार्टीलाई एक नम्बरको बनाएरै छाड्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया