यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

 पुष १६, २०७८ शुक्रबार १९:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । हिजाे बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । 

उहाँले कृषि तथा पशुपक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्स एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेशलिस्ट पदमा काम गर्न काजमा खटाउने निर्णयसमेत गरेको छ । त्यस्तै सुर्खेत जिल्लाको साविकको लेखफर्सा, काफलकोट र लेखपराजुल गा.वि.स.हरूको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । 

प्रवक्ता कार्कीले नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा मिति २०७८–०९–१८ देखि मिति २०७८–०९–३० सम्म घर बिदामा रहनुहुने भएकाले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो । 

त्यस्तै टाक्टोर–लामाजुरा सडक खण्डको ट्र्याक ओपन गर्न सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २ दशमलव ५७ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने र चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका देशमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन/प्रयोगात्मक अभ्यास/इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले आदिकवि भानु जन्मस्थल विकास समितिको अध्यक्षमा भानु–४ तनहुँ निवासी ऋषिराम पन्त र कार्यकारी निर्देशकको पदमा भानु–४ तनहुँ निवासी शंकर रानाभाटलाई नियुक्ति गर्ने निर्णयसमेत गरेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया