बिजुलीकाे बजार हाेइन, खपत हुने क्षेत्र खाेज्नुपर्छ, हामी उल्टाे बाटाेमा छाैँ : अर्थमन्त्री शर्मा

 पुष १६, २०७८ शुक्रबार १९:३९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत् खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभएको छ । अहिले विद्युतको बजार खोज्न लागिएको भन्नुहुँदै उहाँले बजार नभएर यसको खपत हुने क्षेत्र खोज्नुपर्ने बताउनुभएको हो ।

आज शुक्रवार नयाँ बानेश्वरमा नागरिक लगानी कोषको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विद्युतको खपत क्षेत्र खोज्नुको साटो बजार खोजेर उल्टो दिशामा गएको बताउनुभयो । ‘जलविद्युत् थोरै मात्र उत्पादन हुँदा पनि हामी यसको बजार खोज्दै हिँड्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन, खपत हुने क्षेत्र खोज्ने हो । हामी उल्टो बाटोमा छौँ ।’ 

बजारले भन्दा खपत गर्ने क्षेत्रले बढी प्रतिफल दिने भन्नुहुँदै उहाँले खपतले देशलाई आर्थिक विकासतिर लैजाने बताउनुभयो । कृषि आधुनिकीकरण, औद्योगीकरण, शिक्षा तथा प्रविधि, स्वास्थ्य लगायतका क्षेत्रमा खपत गर्न सकिने मन्त्री शर्माले औँल्याउनुभयो । त्यस्ता क्षेत्रको समयमै पहिचान गरी नागरिक लगानी कोष जस्ता कोषले लगानी गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । 

नागरिक लगानी कोष ठूला कोषहरूमध्ये एक रहेको भन्नुहुँदै मन्त्री शर्माले यस्ता कोषहरूको उचित परिचालन गर्नुपर्ने बताउनुभयो । कोषहरू निष्क्रिय रहेकाले तिनीहरूको परिचालनमा उहाँले जोड दिनुभएको हो । ‘कोषको पैसा लगानी भइरहेको छैन । लगानी गरेर पुँजी निर्माण गरिरहेको छैन’, उहाँले भन्नुभयो, ‘आजको दिनमा सबै कोषहरूलाई पुँजी निर्माणमा केन्द्रित गर्न आवश्यक छ ।’ आउँदा दिनमा लगानीका लागि ठूलो पुँजीको आवश्यकता रहेकाले त्यसका लागि कोषहरू केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभएयो ।

लगानी काेषकाे नयाँ भवन ९१ करोड लागतमा ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे ६ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया