नयाँ डाक्टर आयाे भन्दैमा सबै बिरामीकाे समस्या एकैचाेटि समाधान हुँदैन : विश्वप्रकाश शर्मा

 माघ १७, २०७८ सोमबार १९:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली विद्यार्थी सङ्गठन (नेविसङ्घ) लगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ । महामन्त्री शर्माले नेविसङ्घलगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताउनुभयो । 

आज साेमवार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसङ्घका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उहाँले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताउनुभयो । नेविसङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँले देशकाे लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसङ्घजस्ता सङ्गठनहरू बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताउनुभयो । 

महामन्त्री शर्माले भन्नुभयो, ‘भातृ संस्थाका समस्याहरू छन् । नयाँ आएका महामन्त्री कहाँ छन् ? के छ ? हाम्रोबारेमा के सोचिरहेका छन् ? भन्ने कुराहरू सामाजिक सञ्जालमा समेत आइरहेका छन् । तर के बिर्सनु हुँदैन भने कुनै अस्पतालमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीको समस्या एकैचोटि समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन । मेरो प्रकृतिकाे बारेमा कुरा गर्दा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ता दिएको मान्छे हुँ । अहिले म महामन्त्री भए पनि धेरै बोलेको छैन । बोल्ने वाला पनि छैन । त्यस कारण तपाईँहरूको विषयकाे बारेमा अहिले हामी छलफल गरिराखेका छौँ । खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ । भातृ संस्थाहरूको बारेमा किन पनि जोड छ भने यी सङ्गठनहरू बलियो बन्नु भनेको तपाईँहरूका लागि होइन, यो त देशकाे कष्टको कुरा हो । नेविसङ्घ नमुना सङ्गठन बन्नुपर्छ ।’

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटक–पटक दोहोर्‍याउनुभयाे । उहाँले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरूलाई प्रक्रियामा लगेर समाधान गर्न लागिपरेको बताउनुभयो । त्यस अवसरमा विद्यार्थी नेताहरूले नेविसङ्घको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया