प्युठान जीप दुर्घटना : ज्यान गुमाउने आठ जनाकै पहिचान खुल्यो

 माघ २२, २०७८ शनिबार १०:२९:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्युठानकाे ओखरपाटामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने आठ जनाकै पहिचान खुलेकाे छ।

दुर्घटनामा ज्यान गुमाउनेमा एक बालिकासहित पाँच महिला र तीन पुरुष रहेका छन्। 

मृतक आठ जनामध्ये एकै परिवारका तीन जना समेत रहेका प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा गौमुखी गाउँपालिका-६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उहाँकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुकी ११ वर्षीया छोरी एलिसा खड्काको ज्यान गएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभएको छ । 

दुर्घटनामा त्यही  वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्काको ज्यान गएको छ । यस्तै नौबहिनी- ६ लुङकी १८ वर्षीया विपना जीसीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जीसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया सावित्रा जीसी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । 

प्युठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार बेहुलीको एउटा हात भाँचिएको छ । गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बेहुला दानबहादुर खड्का र सावित्रा जीसीको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचार भइरहेको छ ।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियाे । नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेकाे थियाे । 

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे । रातभर पानी परेको र बाटो चिप्लाे भएका कारण जीप दुर्घटना भएकाे डीएसपी थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया