सङ्घीय सरकारले बाटाे बनाउँदैन अनि फाेहर नउठ्दा गाली हामीले खानुपरेकाे छ : मेयर शाक्य

 फागुन २, २०७८ सोमबार १६:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाको फोहर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पासाङ ल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापर्बाही भएको भन्दै पीडित स्थानीयवासीले हिजाे आइतवारदेखि सडक बन्द गर्दै ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनमा समेत अवरोध गरेपछि मेयर शाक्यले सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको हो । ‘स्थानीयवासीको आन्दोलनका कारण फोहर विसर्जनमा अवरोध भएपछि काठमाण्डाै महानगरपालिकाकाे मात्रै होइन सबै उपत्यकाकै फोहर उठ्न नसक्दा दुर्गन्ध फैलिएर थप समस्या हुन सक्छ’, मेयर शाक्यले भन्नुभयो, ‘त्यसैले सङ्घीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु ।’

उहाँले २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयवासीले आन्दोलन गर्ने र फोहर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराउनुभयो । ‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गरोस् ।’

स्थानीयवासीले राजमार्ग नबनेकाे भन्दै टाँगेकाे ब्यानर

मेयर शाक्यले त्यहाँको बाटो बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटक–पटक रोकिँदा गाली काठमाण्डाै महानगरपालिकाले खानुपरेको पनि बताउनुभयो । ‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले फोहरको राजनीति कसैले नगरौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।’  

शाक्यले बञ्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने पनि बताउनुभयो । ‘सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहर विसर्जन गरिरहेको ठाउँ सिसडोलमा फोहर व्यवस्थापन गर्न कठिनाइ भइ आउँदो असार–साउनदेखि फोहर विसर्जनमा थप समस्या सिर्जना हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यसले काठमाण्डाै महानगर र उपत्यका नै दुर्गन्धले भयावह हुने खतरा बढी छ । त्यसैले छिटो भन्दा छिटो बञ्चरे डाँडाको काम सम्पन्न गरी काठमाण्डाै महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सङ्घीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यसो भयो भने मात्रै आउँदो वर्षामा फोहर विसर्जनमा सहज हुने उहाँको भनाइ छ । ‘फोहोर रोकेर आन्दोलन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि फोहरमैला व्यवस्थापनमा सरकारले सबैसँग समन्वय गरेर समाधान खोज्न आवश्यक छ’, शाक्यले भन्नुभयो, ‘महानगरपालिकाका तर्फबाट गर्ने सबै प्रयासमा महानगरपालिका तयार छ । बाटो छिटो निर्माण होस् भन्ने स्थानीयवासीको माग जायज छ तर फाेहर जस्तो संवेदनशील विषयलाई विसर्जनमै अवरोध गर्नुभन्दा पनि सम्बन्धित निकायलाई वैकल्पिक बाटोबाट दबाब दिनु उपयुक्त हुन्छ भन्ने मेरो उहाँहरूलाई सुझाव छ ।’

काठमाण्डाै महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले पनि हिजाेदेखि फाेहर विसर्जनका लागि अवरोध भएको जानकारी दिनुभयो । उहाँले सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदारसँग सम्पर्क गर्ने र जतिसक्दो छिटो बाटो निर्माण गर्ने प्रतिबद्धता उनीहरूबाट प्राप्त भए सडक अवरोध खुल्ने र फोहर विसर्जनमा सहज हुने भन्दै त्यसका लागि पहल गरिरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया