राजकुमार क्षेत्री अदालतकाे आदेश लिएर प्राधिकरणमा, हाजिर भने भएन

 फागुन २, २०७८ सोमबार १६:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुग्नुभएको छ । 

आज सोमवार बबरमहलमा रहेकाे प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्कनुभएको छ । डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उहाँ प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुग्नुभएको थियो । तर महानिर्देशक क्षेत्रीले अदालतले आदेश दिए पनि प्राधिकरणका कानुन अधिकृतले महान्यायाधिवक्ताको कार्यालयबाट थप व्याख्या हुनुपर्ने भन्दै हाजिर गर्न नदिइएको बताउनुभयो । उहाँले प्राधिकरणको ऐनमा स्पष्ट महानिर्देशकको कार्यकाल चार वर्ष हुने भएकाले आफूले चार वर्ष महानिर्देशक हुन पाउनुपर्ने माग राखेर अदालत गएको बताउनुभयो । आज कार्यालयमा हाजिर गर्न नपाए पनि वकिलहरूसँग छलफल गरेर भाेलि मङ्गलवार कार्यालयमा हाजिर गर्न आउने बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले भन्नुभयो, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर गएकाे कात्तिक ८ गते नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएको थिएँ । तर ५८ वर्षको उमेर हद लगाएर पुस २३ गते प्राधिकरणबाट अनिवार्य अवकाश दिइयो । हाम्रो ऐनमा प्रष्ट व्यवस्था छ चार वर्षका लागि, मैले चार वर्ष नै कार्यकाल कायम गरी पाउँ भनेर सर्वोच्च अदालतमा मुद्दा हालेँ र अदालतले नहटाउन आदेश दियो । आज म हाजिर गर्न आएको थिएँ । प्राधिकरणका साथीहरूले यसलाई महान्यायाधिवक्ताकाे कार्यालयबाट व्याख्या गर्नुपर्छ भनेर लम्बाइ दिनुभयो ।’

महानिर्देशक क्षेत्रीले आउँदाे फागुन ९ गते अदालतले दुवै पक्षलाई बोलाएकाले अदालतले जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने बताउनुभयो । हिजाे आइतवार सर्वोच्चले प्राधिकरणको महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सरकारले क्षेत्रीलाई हटाएर महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया