आफूलाई हराएबापत एमालेले कुनै पनि न्यायाधीशविरुद्ध महाअभियाेग प्रस्ताव ल्याउन मिल्दैन : पाैडेल

 फागुन २, २०७८ सोमबार १८:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गर्नुभएको छ । सत्तारुढ प्रमुख घटक कांग्रेसका वरिष्ठ नेता पौडेलले एमालेले संसद् विघटनको मुद्दामा आफूलाई हराएबापत सर्वोच्च अदालतको निर्णय विपरीत त्याे महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गर्नुभएको हो ।

आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौती दिने गरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले त्याे प्रस्ताव एमालेले ल्याए सभामुख अग्निप्रसाद सापकोटाले संसदबाट अस्वीकार गरिदिने दाबीसमेत गर्नुभयो । संसद् विघटनको मुद्दामा आफू हार्ने अनि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उहाँको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘अब उहाँहरूले त्यो प्रस्ताव ल्याउनुहोला जस्तो लाग्दैन । र एउटा कुरा के हो भने आफूलाई मुद्दा हराएबापत महाअभियोग ल्याउन पाइँदैन । किनभने मुद्दाकाे हकमा सर्वोच्चको निर्णय नै अन्तिम हुन्छ । त्यसलाई चुनौती दिनु हुँदैन । त्यो पाइँदैन । उहाँहरूले आफूहरूलाई मुद्दा हराएको भनेर महाअभियोगको प्रस्ताव लैजानु भयो भने त्यो प्रस्ताव सदन स्वीकार गर्न सक्दैन । त्यो प्रस्ताव सदनको नेतृत्वले पनि अस्वीकार गरिदिन सक्छ ।’

उहाँले जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याएको दाबी गर्नुभयो । उहाँले यो प्रस्तावसँगै अब सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वाससमेत व्यक्त गर्नुभयो । वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकाङ्क्षालाई पनि सत्तारुढ दलहरूले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पुर्‍याएकाे बताउनुभयो ।

उहाँले आफूले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बर्हिगमनका लागि राजीनामा दिन पटक–पटक सुझाएको पनि स्मरण गराउनुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया