बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार : मन्त्री भुसाल

 फागुन ५, २०७८ बिहीबार १४:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज बिहीवार भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ । 

भेटमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकबाट काम गरिरहने नेपाल सरकारको प्रतिबद्धता रहेको बताउनुभयो ।

नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिज्मकाे प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । महासागरहरूका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र पृथ्वीकाे तापक्रमलाई नियन्त्रण गर्नका लागि हिमालयको महत्त्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भन्नुभयो, ‘हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।’

ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलाशययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बूढीगण्डकी, दूधकोसी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । जलविद्युत् स्वच्छ ऊर्जा भएकाले यसको प्रवर्द्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताउनुभयो । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो ।

त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत् व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया