'एमसीसी' राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति पुन

 फागुन ९, २०७८ सोमबार १७:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताकाे सम्बन्धमा राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

आज सोमवार अन्तर्राष्ट्रिय मातृभाषा – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरि यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राख्नुभएको हो । उहाँले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरूमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्त्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताउनुभयो । राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्द्वकाे खतरा हुने उहाँले उल्ल्लेख गर्नुभयो । 

उपराष्ट्रपति पुनले भन्नुभयो, ‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्त्वका विषयमा छलफल र मतभिन्नताहरू प्रकट भइरहेका छन् । दुरगामी महत्त्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक द्वन्द्व पैदा हुन सक्ने खतरा हुन्छ । र यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठ पनि सिक्न सक्नुपर्दछ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उहाँको भनाइ छ । भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा मातृभाषामा सेवा दिन ढिलाइ नगर्न उहाँले ध्यानाकर्षण गराउनुभएको छ । 

उपराष्ट्रपति पुनले मातृभाषाको लोप भएमा नेपालको मौलिक संस्कृति लोप हुने भएकाले मातृ भाषाको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताउनुभयो । मातृभाषाको संरक्षण गर्ने प्रमुख दायित्व सरकारकाे भएको बताउँदै उहाँले स्थानीय तहले मातृभाषामा पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया