बालकोट छलफलमा ओलीको माग : हामीलाई संसदभित्र प्रवेश गर्ने ढोका खोलिदिनुस्

 फागुन १३, २०७८ शुक्रबार २३:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा रहेको ओली निवासमा आज बेलुकी भएको भेटवार्ता सकिएको छ । उहाँहरूबीच संसद् अवरोध हटाउने र संसदमा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिनुभएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौंँ भन्ने प्रस्ताव गर्नुभएको जानकारी दिनुभयो ।

छलफलमा ओलीले “हामीले धेरै सङ्घर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौँ, लोकतन्त्रको यात्राका हामी सहयात्री हौँ, लोकतान्त्रिक मूल्य(मान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसदभित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौँ”, भन्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

    
छलफलपछि जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले संसदमा छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । एमसीसी अनिर्णयको बन्दी बन्नु हुँदैन भन्ने मान्यता एमालेको पनि रहेको भन्दै उहाँले नेपाली कांग्रेस र एमालेबीचमा समझदारी हुनुपर्नेबारेमा छलफल भएको बताउनुभयो । 

    
ज्ञवालीले छलफलबारे भन्नुभयो, “आजको छलफलमा कांग्रेस गम्भीर देखिएको छ, हामीले पुरानै माग राखेका छौँ, तर सरकारसँग एमालेको माग पूरा गर्ने खाका बनेको पाएनौँ ।” एमालेलाई संसदमा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसदमा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उहाँको भनाइ छ । एमालेले सरकारमा जाने र लेनदेन गर्नेबारेमा कुनै प्रस्ताव नराखेको भन्दै नेता ज्ञवालीले कांग्रेस र एमालेबीच भोलि शनिवार फेरि छलफल हुने बताउनुभयो । कांग्रेस ‘अर्ली इलेक्शन’ मा जान चाहेमा एमालेको साथ रहने उहाँको भनाइ छ । 

छलफलमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीका तर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया