२ दिन सार्वजनिक बिदा दिन र सवारी साधनमा जोर/बिजोर लागू गर्न निगमकाे आग्रह

 चैत १५, २०७८ मंगलबार १८:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

पेट्राेल, डिजल भर्नेकाे लाइन (फाइल फाेटाे)

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिन र सवारी साधनमा जोर/बिजोर प्रणाली लागू गर्न सरकारलाई सुझाव दिएको छ । 
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको र भुक्तानी गर्न नसक्ने अवस्था आएको उल्लेख गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिएर तेलको खपत घटाउन सरकारसँग माग गरेको हो । 

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर गइरहेको र प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा मात्रै दैनिक ३१ करोड रुपैयाँ घाटा भइरहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको खपतलाई कम गर्न निगमले गएकाे चैत १३ गते १० बुँदे सुझाव दिएको पनि जानकारी दिनुभयाे । 

उपाध्यायका अनुसार निगमले पेट्रोलियम पदार्थमा भन्सार शुल्क घटाइदिनुपर्ने, मूल्य समायोजन गर्न दिनुपर्ने, डिजल/पेट्रोलको खपत कम गर्न विद्युतीय साधन प्रयोग गर्न लगाउन सार्वजनिक आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । 

शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने, छोटो दुरीका सवारी साधनको सकभर प्रयोग नगरि पैदलयात्रा गर्ने र जुनसुकै किसिमका सवारी साधनमा पूर्ण सिट क्षमतामा यात्रु बस्ने वा आवतजावत गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिइएको छ ।

प्रवक्ता उपाध्यायले भन्नुभयो, ‘इन्धनकाे खपत घटाउनलाई हप्तामा एक दिन सार्वजनिक बिदा दिएको ठाउँमा दुई दिन गर्न सकिन्छ । जोर/बिजोर प्रणालीमा गयौँ भने अहिले भइरहेको खपत आधा घट्छ । होटलहरूले एलपीकाे सट्टा बिजुली प्रयोग गराउने, ठूलो सवारी साधनबाट ओहोरदोहोर गराएर व्यक्तिगत सवारी साधनलाई केही समय रोक्ने हो भने खपत घट्छ ।’

त्यस्तै निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको असर नेपालमा पनि परिरहेको स्पष्ट पारेको छ । प्रवक्ता उपाध्यायले पछिल्लो समय झन्डै २२ देखि २५ अर्ब रुपैयाँकाे पेट्रोलियम पदार्थको मासिक खपत हुने गरेको र क्रय मूल्य तिर्न मासिक १० अर्ब रुपैयाँ अपुग भएको पनि बताउनुभयो । उहाँले दिनप्रतिदिन बढिरहेको घाटाका कारण निगमलाई नगद प्रवाह गर्न नै समस्या परिरहेको पनि उल्लेख गर्नुभयो ।

प्रवक्ता उपाध्यायले अहिले निगमलाई एलपी ग्यासमा मासिक दुई अर्ब ५० करोड घाटा भइरहेको र अब आउने मूल्य समायोजनपछि घाटा बढेर तीन अर्ब रुपैयाँसम्म पुग्ने निगमको अनुमान रहेको बताउनुभयो ।

त्यस्तै निगमले पेट्रोलियम पदार्थको भन्सार शुल्क प्रतिलिटर १५ रुपैयाँ घटाइदिन पनि आग्रह गरेको छ । अहिले नेपाल आयल निगमसँग ६८ हजार किलोलिटर भण्डारण क्षमता छ भने लगभग ८० प्रतिशत भण्डारण छ । प्रवक्ता उपाध्यायले आयात ठप्प भएको खण्डमा निगमसँग भएको भण्डारण क्षमताले पेट्रोल पाँच दिन र डिजल आठ दिन सम्मलाई पुग्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishnu kc

    March 29, 2022, 6:44 p.m.

    एकदम सही सुझाव /

  •  0 Reply

तपाईको प्रतिक्रिया