नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको हो ।
काठमाण्डौको स्युचाटारमा रहेकाे भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आउँदाे पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
केन्द्रमा काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दामुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ ।
साथै त्यहाँ अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर रहने छ, जहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रुपमा रहने छन् ।
‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि २/३ महिना लाग्ने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्त्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।
केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भइ नाेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १ करोड २० लाख अमेरिकी डलर रहेको छ ।
प्राधिकरणले आफ्नो सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी सहज, सर्वसुलभ, प्रभावकारी बनाउन ‘डिजिटल एनईए’ अवधारणामार्फत त्यहीअनुसार काम गरिरहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकीकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएको छ । आउँदाे दिनहरुमा क्रमैसँग देशभर ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।