अमेरिकी जनरलले नेपाली सेनालाई कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको हाे ? : भीम रावल

 जेठ ३०, २०७९ सोमबार १३:३८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी दिनुपर्ने बताउनुभएको छ । 

आज साेमवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसद्लाई जानकारी गराउनसमेत माग गर्नुभएको हो । उहाँले नेपालको असंग्लन र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान गठबन्धन सरकारका गतिविधिहरूले त्यो नीति र मान्यतालाई उल्लङ्घन गरेको आरोप लगाउनुभयो । डा. रावलले नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेकोप्रति आपति जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाल भ्रमणमा रहेका अमेरिकी जनरलले नेपाली सेना भरपर्दो स्थलगत सेना भनेको सुनेँ, के भनेको हो यो ? कसको भरपर्दो स्थलगत सेना भन्न खोजेको ? स्थल सेनाको समूहमा काम गर भन्न खोजेको हो । यसले के आशङ्का उत्पन्न गरेको छ भने– 'स्टेट पाटर्नरशिप' कार्यक्रम राज्य साझेदारी कार्यक्रम भनेर अमेरिकाले चलाएको छ, त्यसको भित्रबाट नेपाल अङ्ग भइसक्यो भनेकाे हो कि ? यस्तो बेलामा प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने कुरा आएको छ । प्रधानमन्त्री भ्रमणमा जाने विषय संसदलाई जानकारी हुनुपर्छ कि पर्दैन । प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी गराउनुपर्छ । परराष्ट्रमन्त्री प्रधानमन्त्रीसँगै आउनुपर्‍याे । अन्तर्राष्ट्रिय सम्बन्धका विषयका छलफल हुँदा समितिमा परराष्ट्रमन्त्रीले आउँदिन भन्ने हुन्छ । दुई देशको बीचका भ्रमण भइरहने कुरा सामान्य हो । यो भ्रमण आदानप्रदान कसले गर्छ ? हाम्रो परराष्ट्र मन्त्रालय छ तर परराष्ट्र मन्त्रालयमा कुनै जानकारी आउँदैन । नेपालका राजदूत अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गएर कुराकानी गर्नुहुन्छ । अमेरिकाका जनरल नेपाल भ्रमण गर्नुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति अमेरिका भ्रमण गर्ने कुरा आउँछ र दुई देशका सेना र रक्षा मन्त्रालयको बीचमा सबै चाँजोपाँजो मिलाइएको जस्तो सम्पूर्ण घटनाक्रमले देखाएको छ । यो एकदमै आपत्तिजनक कुरा हो । सत्तापक्षकै सांसद अमेरिकी भ्रमण गर्नु हुन्न भन्नुभएको छ ।’

सांसद रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि उहाँकी पत्नी आरजु राणा सल्लाह लिन भारत गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा 'स्टेट पार्टनरशिप' कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको पनि आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया