पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकियाे : अध्यक्ष प्रचण्ड

 असार ५, २०७९ आइतबार १३:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको दाबी गर्नुभएकाे छ । 

आज आइतवार काठमाण्डौमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्वमाओवादीहरूको नयाँ एकताको शृङ्खला नजिकिएको बताउनुभएको हो । उहाँले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी गर्नुभयो । अध्यक्ष दाहालले कर्मचारीहरूभित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अब करिब करिब सबै पूर्वमाओवादी भन्ने जति एक ठाउँमा आउने वातावरण भएको छ । अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ । छिटै त्यो टुङ्गोमा पुग्दैछ ।’

अध्यक्ष दाहालले कर्मचारीभित्र र समग्र राजनीतिक वृत्तमा पनि सङ्घीयता कमजोर बनाउने काम भइरहेको बताउनुभयो । उहाँले कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरूले सङ्घीयता वा सङ्घीय निजामती ऐन अघि बढाउने कुरा वा वृत्तिविकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरूलाई सम्बोधन हुन नदिने प्रयास भइरहेको बताउनुभयो । 

अध्यक्ष दाहालले गठबन्धनको बैठकमा निजामती ऐन र वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियाको बारेमा कुरा राख्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पालिकामा काम गर्ने कर्मचारीहरूको वृत्ति विकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा सबैले आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया