नागरिकता विधेयक फिर्ता, ‘नयाँ विधेयक आजै मन्त्रिपरिषदमा प्रस्तुत हुन्छ’– गृहमन्त्री

 असार २४, २०७९ शुक्रबार १८:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदमा चार वर्षदेखि अड्किएकाे नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएकाे छ । आज शुक्रवारकाे प्रतिनिधि सभा बैठकले नेपालकाे नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

सदनमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा याे विधेयक २२ महिना विचाराधीन रही दफाबार संशोधन भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाणले बैठकमा याे विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्तावमा प्रतिपक्षी दलका सांसदहरूले फिर्ता नलिन आग्रह गर्दै छलफलमा भाग लिएका थिए । 

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताउनुभएकाे थियाे । विधेयक हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको उल्लेख गर्दै अर्को विधेयक शून्य अवस्थाबाट सुरु गर्दा पारित हुने सुनिश्चितता नरहेको उहाँकाे भनाइ थियाे । 

अर्का सांसद भीम रावलले वर्तमान सरकार कामचलाउ रहेको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव संवैधानिक, कानुनी, लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको प्रतिकूल रहेको धारणा राख्नुभएकाे थियाे । नागरिकतालाई राजनीतिक स्वार्थको हतियार नबनाउन पनि उहाँकाे आग्रह थियाे । 

अर्का सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक संसदबाट फिर्ता लिने प्रस्ताव गर्नुले भ्रूण हत्या भएको टिप्पणी गर्नुभयाे । 

सांसदले उठाएका प्रश्नकाे जवाफमा गृहमन्त्री खाणले आजै बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ विधेयक ल्याउने जानकारी दिनुभयाे । प्रतिनिधि सभामा अहिले भएको नागरिकतासम्बन्धी विधेयक यथास्थितिमा बसिरहँदा नागरिकता वितरणको काममा बाधा उत्पन्न भएको उहाँकाे भनाइ थियाे । 

गृहमन्त्री खाणले भन्नुभयो, ‘आजै मन्त्रिपरिषद् बैठक बस्नेछ, आजै नागरिकता विधेयक फेरि प्रस्तुत हुनेछ । त्यो विधेयकमा माननीयज्यूहरूले राख्नुभएको चासोलाई गम्भीरतापूर्वक नै सम्बोधन गरिनेछ ।’

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया