जसपा क्षेत्रीय सङ्कीर्णताकाे बाटाेमा गएपछि नयाँ पार्टी गठन गर्नु परेकाे हाे : बाबुराम भट्टराई

 साउन २१, २०७९ शनिबार १४:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नवगठित नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय सङ्कीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताउनु भएको छ ।

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले देशको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताउनु भएको हो । ललितपुरको बालकुमारीमा शनिबार (आज) सुरु भएको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा बोल्दै उहाँले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पार्नु भयो ।

‘जसपाले क्षेत्रगत, जातीगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरु गर्‍यौं, बहसहरु गर्‍यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यही पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गएकाे असार २८ र २९ गते केन्द्रीय समितिको बिस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्‍यौँ । तर जो मानिसहरु उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए । उनीहरुले रुपान्तरणको कुनै संकेत देखाएनन् । उल्टै पार्टीलाई एउटा नयाँ ढंगले विघटनको दिशातिर, विर्सजनको दिशातिर लिएर जाने जुन प्रयत्न गरे । त्यसबाट यो पार्टी रुपान्तरण हुन सम्भव छैन, यसलाई पुनर्गठन नै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेर जनता समाजवादी पार्टी सङ्कीर्ण जातीय, क्षेत्रीय बाटोमा पतन हुने देखियो । त्यसले अब देशको वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्दैन । त्यसैले अब हामी फेरि नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामीले नेपाल समाजवादी पार्टी निर्माण गरेर हामी अघि बढेका छौं । वैधानिक ढंगले यसले पूर्णता प्राप्त गर्न अझै बाँकि छ । यो केन्द्रीय समितिको हाम्रो मुख्य मक्सद भनेको पुनर्गठित यो पार्टीको वैधानिकतालाई पूरा गर्ने र त्यसपछि विभिन्न पक्षहरुसँग राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको समेत आँकलन गर्दै आगामी दिनको कार्यभार तय गर्ने यो नै हाम्रो यो बैठकको मूल एजेण्डा हो । त्यसो हुनाले म सम्पूर्ण साथीहरुलाई पत्रकार मित्रहरुलाई मेरो चाँही आग्रह छ–हामी एउटा नयाँ इतिहास रच्ने हिम्मत र आँट सुरु गरेको छौं । नयाँ काम जहिले पनि अप्ठ्यारो हुन्छ । तर अप्ठ्याराहरुसँग जुधेर मात्रै रुपान्तरणकारी कामहरु गर्न सकिन्छ सजिलो बाटो त जो पनि हिँडछ । समस्याहरुको समाधानका निम्ति असजिलो बाटो हिँड्ने हिम्मत र साहस गर्नुपर्छ । हामीले त्यो हिम्मत र साहस गरेका छौं । त्यो धेरै कठिन देखिन सक्छ । तर हामीसँग जुन वैकल्पिक विचार छ । संगठनात्मक ढाँचा र शैलीको जुन हाम्रो जोड छ । संगठन र नेतृत्वको नयाँ प्रणालीको सोच जुन हामीले बनाएका छौं । र, देशको स्थितिको मूल्यांकन गरेर आगामी कार्यभार हामी तय गर्दैछौं । यसले देशलाई एउटा वैकल्पिक बाटो देखाउँछ भन्ने हामीलाई विश्वास छ ।’

नेता भट्टराईले आगामी चुनावमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताउनु भयो । जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उहाँले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको कन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने बताउनु भयो । यस्तै, नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गर्नु भयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया