७ दिनभित्र प्रहरी समायाेजन प्रक्रिया सुरु नभए सङ्घीय सरकारविरुद्ध आन्दाेलन गर्ने चेतावनी

 साउन २२, २०७९ आइतबार १६:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मधेस प्रदेश सरकारले आउँदाे चुनावअघि नै प्रहरी समायोजन टुङ्ग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साह नेतृत्वको टोलीले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटनमन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माको समेत उपस्थिति रहेको थियो । साथै प्रत्येक दलबाट प्रदेश सभा सदस्यसमेत ज्ञापन पत्र बुझाउनका लागि पुगेका थिए ।

सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रक्रिया आरम्भ नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्ने चेतावनी ज्ञापन पत्रमा उल्लेख छ । सञ्चारमन्त्री साहले भन्नुभयो, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ, गृह तथा तर सङ्घीय सरकारले कुनै गम्भीरता देखाएको छैन, एक हप्तासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर सङ्घीय सरकारविरुद्ध आन्दाेलन गर्छाैँ ।’

केही हप्ताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको थियो । साथै मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा छुट्टै आग्रह गरे पनि सङ्घीय सरकारले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्दै मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत सङ्घीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकाले प्रदेश सरकार आन्दाेलनमा आउन बाध्य हुने चेतावनी दिनुभयो ।

मधेश सरकारको अगुवाइमा गएकाे असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनको आधारमा सङ्घीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया