परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस् : झलनाथ खनाल

 साउन २४, २०७९ मंगलबार १२:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काकाे चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठ्नुपर्ने बताउनुभएकाे छ । परराष्ट्र मन्त्री चीन भ्रमणमा जान लागेको बारेमा यो महत्वपूर्ण भ्रमण रहेको उहाँले बताउनुभयो । 

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुग्नुभएका उहाँले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताउनुभएको हो । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।  मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नु भएको हो ।

खनालले परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताईवान, तिब्बत चीनकै भएको दाबी गर्नुभयो । उहाँले यी क्षेत्रमा जुनकुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताउनु भयो । उहाँले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने पनि बताउनु भयो । पूर्व प्रधानमन्त्री खनालले बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको बताउनु भयो । 

‘चीनका केही कोर इन्ट्रेस्टका कुराहरु छन् । चीनले सबै देशसँग हाम्रा कोर इन्ट्रेस्टलाई ध्यान दिनुस्, त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौँ भन्ने कुरा गर्दै आएको छ । ऐतिहासिक रुपमा पनि हङकङ चीनको अभिन्न अंग हो । ब्रिटिसले लिएको थियो फर्काइसक्यो । ताईवान त अभिन्न अंग नै थियो । त्यहाँ शासककाविरुद्ध क्रान्ति भएपछि भागेर त्यहाँ बसेका मात्रै हुन् । त्यसैले चीनले जुनसुकै बेलामा पनि त्यो क्षेत्र दाबी गर्ने कुरा आन्तरिक हो । तिब्बत पनि चीनको अभिन्न अंग हो । हाम्रो देशका सबै पार्टी र सरकार यी सबै ठाउँहरु चीनका अभिन्न अंग हुन् भन्नेमा छ' उहाँले भन्नुभयो, 'नेपाल एक चीन नीति र नेपालको भूमि कुनै पनि मित्रराष्ट्र विरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ । परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरु हासिल हुनेछ । बीआरआईको बारेमा सम्झौता भएको छ, केही पनि कार्यान्वयन भएको छैन । सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्नेकुरा नेपाली जनताको चाहना हो ।’

पूर्व प्रधानमन्त्री खनालले भारतले अहिलेसम्म नेपालबाट जाने चियाको लागि ट्याक्स नलगाएको भन्दै भारतबाट प्राप्त भइरहेको सुविधालाई कटौती गर्ने हिसाबले भारतको संसदमा संसदीय टिमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको भन्दै त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्नकाे लागि प्रधानमन्त्रीलाई भेटेर अनुरोध गरेको बताउनु भयो । प्रधानमन्त्रीले यसबारेमा आफू गम्भीर रहेको र भारत सरकारसँग उचित कदम चाल्ने आश्वासन दिनुभएको पनि बताउनु भयो । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया