‘चुनाव जितेर आउनेले जनताकाे पिर, देशकाे हितलाई ध्यानमा राखेर काम गर्न सक्नुपर्छ’

 भदौ ३१, २०७९ शुक्रबार १४:२३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले आउँदाे चुनावमा जितेर आउनेहरूले जनताको पिर, मर्का र देशको वृहत् हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएकाे छ । 

शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद संग्राैलाले संसद्को कार्यकालमा आफूहरूले उठाएका कुराहरू कार्यान्वयन भए/नभएको जनताले मूल्याङ्कन गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उठाएका कुराहरू कति कार्यान्वयन भए, कति भएनन् भनेर जनताले मूल्याङ्कन गर्लान् नै । हामीमध्ये कति साथीहरूले टिकट पाउनुहोला । कतिले जितौँला, कतिले हारौँला । यो सदनमा फेरि फर्केर आउन सफल हुने सबै साथीहरू अवश्य पनि जनताको पिर, मर्का, राष्ट्रको वृहत् हितलाई ध्यानमा राखेर काम गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ । शुभकामना पनि छ ।’

प्रतिनिधि सभा सदस्य कमला रोक्काले उत्तरगङ्गा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडि बढाउन माग गर्नुभयाे । उहाँले पानीको बहाव बग्नेतिर नै आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले ढोरपाटन आरक्षणमा नेपाली सेनाले नियम, कानुनलाई मिचेर स्थानीयवासीलाई सताएको भन्दै सदनमा जानकारी पनि गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य नारायण मरासिनीले सिद्धार्थ राजमार्ग अन्तर्गतकाे पोखरा–बुटवल–सुनौली खण्डको स्तरोन्नति गर्न माग गर्नुभयो । त्यस्तै स्याङ्जा–पोखरा सडक अन्तर्गत भालु पहाडमा ढुङ्गा खसिरहने भन्दै उहाँले ढुङ्गा खस्न नदिने प्रबन्ध गर्न आवश्यक रहेको बताउनुभयो ।  

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पताल र खोप कलेजहरूमा नेट ढिलो हुँदा बिरामीको उपचार र विद्यार्थीको अध्ययन, अध्यापनमा अवरोध भइरहेकोले समस्या समाधान गर्न माग गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाको क्षतिपूर्ति र मुआब्जा अहिलेसम्म नपाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मुआब्जा दिने तथा प्रभावित क्षेत्रका जनताको पुनर्स्थापना गर्न माग गर्नुभयो । 

प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसको बसोवास गराउनुपर्ने बताउनुभयो । उहाँले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास, व्यवसाय गर्न दिन माग गर्नुभयो । निकुञ्जलाई सारेमा पाँच लाखदेखि दश लाख मानिसकाे जीविकोपार्जन हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया