सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई ओलीकाे निर्देशन

 भदौ ३१, २०७९ शुक्रबार १६:०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गरेको हो । 

शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरूलाई बिदाइ गरेको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरूको फेहरिस्त बोकेर चुनावमा जान निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गठबन्धन सरकारले देश र नागरिककाे अहितमा गरेका कामहरूको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभएको उहाँले उल्लेख गर्नुभयो । 

अध्यक्ष ओलीले नयाँ उम्मेदवार र नेताहरूलाई उत्साहका साथ एमालेलाई बहुमत दिलाउने गरी चुनावमा खट्न आग्रह गर्नुभएको छ । संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘आज हामीले संसदको अन्तिम क्षणमा हाम्रो दलका नेता अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दलको बैठक बसेर प्रतिनिधि सभाका सांसदहरूलाई यहाँबाट बिदाइ गरेका छौँ । पार्टी अध्यक्षले हामीले सरकारमा बसेका बेलामा गरेका कामहरूको फेहरिस्त बोकेर, त्यसैगरी यो १४ महिनाको अवधिमा गठबन्धन सरकारले देश र जनताको अहितमा गरेका कामहरूलाई लिएर नयाँ घोषणापत्र, नयाँ उम्मेदवारका साथ, नयाँ उत्साहका साथ जनताको बीचमा जान र सानदार तरिकाले नेकपा (एमाले) लाई बहुमत प्राप्त गर्ने गरी चुनाव जिताउनका लागि सबैलाई अनुरोध गरेर आजको बैठक समापन भयो ।’ 

अध्यक्ष ओलीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा संसदमा खेलेको भूमिकाप्रति सांसदहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया