राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

 असोज ५, २०७९ बुधबार ५:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो ।

संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो । 

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे समर्थन र विरोधमा विभिन्न टिप्पणी भइरहेका छन् । पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयकलाई राष्ट्रपति भण्डारीले संसदलाई सुझावसहित पुनर्विचार गर्नका लागि फर्काउनुभएको थियो । तर संसद्ले राष्ट्रपतिको सुझावलाई पूरै बेवास्ता गर्दै दोस्रो पटक पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो ।

यस क्रममा राष्ट्रपतिले विभिन्न कानुनविद् तथा नागरिक समाजका अगुवासँगसमेत छलफल गर्नुभएको थियो । नागरिक अगुवाहरूले विधेयक यही अवस्थामा कुनै हालतमा पनि प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई सुझाव दिएका थिए ।

राष्ट्रपति भण्डारीले साउन २९ मा नागरिकता विधेयक फिर्ता पठाउँदा वैवाहिक अङ्गीकृत नागरिकता विधेयकको व्यवस्था, प्रादेशिक पहिचान तथा आमाको नामबाट नागरिकता जारी गर्दा हुने महिलाको आत्मसम्मानमा चोटका विषय उठान गर्नुभएको थियो । यी विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव राष्ट्रपतिको भए पनि यसलाई पूरै बेवास्ता गरेर संसद्को बहुमतबाट विधेयक जस्ताको तस्तै पारित गरी प्रमाणीकरणको लागि फेरि राष्ट्रपतिकोमा पठाइएको थियो । 

संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

यसरी विधेयक दोस्रो पटक पनि प्रमाणीकरण हुन नसकेको र प्रतिनिधि सभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब यो विधेयक के हुन्छ भन्ने विषयमा चासो बढेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Ram kebal Singh

    Sept. 21, 2022, 10:43 a.m.

    कानुन बनाउने ले कानुन तोडन पाइन्छ ।हुनत :मलाई पहिले देखि नै थाहा थियो नेपाल मा कानुन नाम को लागि मात्र हो पावर भये पछि संविधानको धज्जि उडाउन सकिन्छ तर आज रास्ट्रपतिले नै संविधान पालान न गरे पछि त आम जनता ले क गर्ला।जय हो देश लाज लाग्न थाल्यो कि म नेपाली हु ।

  •  0 Reply
  • Rajesh Niraula

    Sept. 21, 2022, 6:15 a.m.

    ।।हृदय देखि नै सलाम छ महामहिम ज्यु लाई।। 🙏🙏🙏🙏🙏🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया