ओलीजत्तिकाे नेता अर्काे काेही भेट्टाइनँ, एमाले प्रवेश गर्न पाउँदा खुसी छु : पूर्व आईजीपी खनाल

 असोज ६, २०७९ बिहीबार १४:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । 

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गर्नुभएको हो । एमाले प्रवेश गर्दै पूर्व आईजीपी खनालले अध्यक्ष ओलीजत्तिको नेपालमा अर्को कुनै नेता नभएको जिकिर गर्नुभयाे । उहाँले प्रहरीकाे जागिर खाँदादेखि आईजीपी हुँदासम्म ओलीसरहको नेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालायित भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ । मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ । अध्यक्ष कमरेडकाे राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ । नियम र विधिसम्मत काम गर्दा निर्धक्कको वातावरण बनाउने नेता सायद मैले अर्को भेटिनँ । एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु । नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु ।’

खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पार्नुभयो । उहाँले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताउनुभयो । खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गर्नुभयो ।

पूर्व आईजीपी खनालले एमालेको इमानदार सिपाहीको रूपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताउनुभयो । उहाँले आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपाली बनाउने सबैभन्दा उत्तम पार्टी एमाले भएको बताउनुभयो । उहाँले नेपालको शिर सधैँ उच्च राख्ने काममा एमाले पार्टीमा रहेर अग्रपङ्क्तिमा रहने प्रतिबद्धता जनाउनुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया