इन्डोनेसियाको भूकम्प : मृतकको संख्या ८३२ पुग्यो

 असोज १४, २०७५ आइतबार १४:१६:३६ | रासस
unn.prixa.net

काठमाडाैं – इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण ज्यान जानेको संख्या ८ सय ३२ पुगेको छ ।

स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको र मृतको संख्या अझै बढ्ने बताइएको छ ।इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु शहरका भित्री इलाकासम्म उद्धारकर्ताहरु अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या ‘हजार’ भन्दा बढी हुनसक्ने बताउनुभयो । 

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका छन् । अरु सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुको भनाइ छ ।
अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ । 

कतिपय मृत्यु भएकाहरुको शव सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण पाँच सय जनाभन्दा बढी घाइते भएको जनाइएको छ । इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७।५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेको अनुमान गरिएको छ । 

भूकम्प र सुनामीले बस्ने घरहरु, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनाहरुमा क्षति गरेको छ । अधिकारीहरुले अझै पनि शक्तिशाली परकम्पहरू आउनेक्रम जारी रहेको बताएका छन् ।

यसैवर्ष, लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ५ सय ५० भन्दा बढी मानिस मारिएका थिए । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९।१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया