एमालेमा विधि र नीतिको पुनर्स्थापना हुने नदेखेपछि पार्टी छाडेँ : घनश्याम भुसाल

 असोज २२, २०७९ शनिबार १४:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टी छाड्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीबाट लामो समयदेखि थिचोमिचोमा पर्नुभएका नेता भुसालले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले छाड्ने घोषणा गर्नुभएको हो । उहाँलाई जिल्ला कमिटीले रुपन्देहीबाट आउँदो चुनावमा उम्मेदवारको लागि सिफारिस गरे पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि भुसालले पार्टी छाड्ने निर्णय गर्नुभएको हो ।

देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र नागरिकलाई गोलबन्द गर्दै नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरे पनि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको ओलीको दम्भमा फस्दै गएको भुसालले आरोप लगाउनुभएको छ ।

गएको महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीतको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती  गरेको र त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गएको भुसालले बताउनुभएको छ । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढेको र अहिले एमाले केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको भुसालको आरोप छ ।

एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आफूले सङ्घर्ष गर्दै आएको तर अब यो सम्भव नहुने देखेपछि पार्टी छाड्ने निर्णयमा पुगेको भुसालले बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहकर्मीहरुप्रति सधैँ ऐक्यबद्धता रहने र राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने भुसालले उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया