दलहरूले गठबन्धन गरेर मतदातालाई स्वतन्त्र विवेक प्रयाेग गर्न अङ्कुश लगाए : पूर्व प्रमुख निर्वाचन आयुक्तहरू

 कात्तिक ३, २०७९ बिहीबार १४:१९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदाताको स्वतन्त्र विवेकमा अङ्कुश लगाएको आरोप लगाउनुभएको छ । 

आज बुधवार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको 'संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन' विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रमुख आयुक्त श्रेष्ठले यस्तो आराेप लगाउनुभएकाे हाे । उहाँले राजनीतिमा गठबन्धन स्वाभाविक भए पनि मतदानअघिको गठबन्धनले भने मतदातालाई अप्ठेराेमा पार्ने बताउनुभयो । उहाँले दलहरूले उम्मेदवारीमा महिला, दलित, जनजाति, अल्पसङ्ख्यकलगायतको सहभागीलाई कम गराएर त्याे समुदायप्रति अन्याय गरेको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘संसदीय विकासको प्रणालीलाई खलबलाउनु हुँदैन । मतदातालाई स्वतन्त्र विवेक प्रयोग गर्न पनि अङ्कुश लगाइएको छ । चुनावअघिकाे गठबन्धनले मतदातालाई अप्ठेराेमा पारेको नै छ ।त्यस्तै उम्मेदवारी दिँदा पार्टीले न्याय गरेन भन्ने छ । महिलाहरूको त नाै प्रतिशतमा राख्यो, दिँदै दिएन भन्दा पनि हुन्छ । जनजातिको प्रतिनिधित्व पनि उचित तरिकाले भएन भन्ने छ । गठबन्धनलाई मैले गाली गरेको होइन । गठबन्धन त हुन सक्छन् राजनीतिमा । संसदमा फ्लोर क्रस हुन्छ तर मतदान पहिलेको गठबन्धनले गर्दा मतदातालाई पनि अप्ठेराेमा पारेको छ ।’

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले चुनावकाे विधि र प्रविधिमा पनि सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरूले गठबन्धन गर्नाले मतदाताको विवेकमा समेत प्रभाव पारेको उल्लेख गर्नुभयाे । मतदातालाई बाध्यात्मक स्थिति सिर्जना गरेर मतदान गराउनाले बहुदलीय व्यवस्था बलियो हुन नसक्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘दलहरू मिसिँदा कुन दलले कतापट्टि भोट हाल्ने ? मतदातालाई प्रेसर छ । उसले विवेक प्रयोग गर्न पाउँदैन । ओलाङचुङगाेला र कञ्चनपुरको मतदाताले एउटै विचार गरिराखेको हुन्छ । उसको विवेक एउटै किसिमको हुन्छ । तर दलहरूले विवेकमा पनि प्रभाव पारेर उसलाई मतदान दिनका लागि बाध्यात्मक स्थिति सिर्जना गरिरहेको अवस्थामा बहुदलीय व्यवस्था फस्टाउने, बलियो हुने स्थिति हुन्छ कि प्रतिनिधिमात्रै छानेर फेरि पनि त्यहीँ टाँसिएर त्यसै गर्ने स्थिति हुन्छ भन्ने शङ्का लागिराखेको छ ।’

उप्रेतीले चुनावमा सुरक्षा व्यवस्था दिनानुदिन कडा गर्दै लानुपर्ने स्थिति आएको बताउनुभयो । उहाँले मतदाताबाट नै निर्वाचन अधिकृत र कर्मचारी छनोट गरी मतदाताले नै चुनाव गराउनुपर्ने अवधारणाको उल्लेख गर्नुभयो । त्यस्तै निर्वाचन आचारसंहिता निर्वाचन आयोगले नबनाइ राजनीतिक दलहरूले नै बनाउनुपर्ने उहाँको भनाइ छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले चुनाव खर्च घटाउने तथा चुनावलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया