फरक भूमिका रूचाउने विपीन

 पुष ५, २०७९ मंगलबार ११:३६:५ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत् चिनिन्छन् । लुट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद,  सेल्फी किङमार्फत् आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् । 

उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत् चिनाउन प्रयास गरेका छन् । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानकाे भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमानकै भूमिकमा ल्याए । यस भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गरे । फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् । 

उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन् । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । 'म चरित्रमा बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । मैले सहजै भूमिका स्वीकार्ने गर्छु', अभिनेता कार्कीले भन्नुभयो, 'निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन । यद्यपि म भने फरकरुपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।' उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन् । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ । 

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन्। 'हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उनको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ', अभिनेता राईले भने ।

अभिनेता राई र कार्कीले लुट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन् । उनीहरु दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया