लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुने
मंसिर १२, २०८१ बुधबार
काठमाडौं– यो एउटा फाटेको मनको कथा हो । उनको मन जोडिन मुस्किल हुने गरी फाट्ने कारण सुनाउँदैछौं सुस्मिता नाम दिएर । जुन उनको वास्तविक नाम होइन ।
सुस्मिताका घरमा सासु ससुरा, जेठाजु जेठानी छन् तर उनी अहिले छोरो लिएर एक्लै बस्छिन् । छोरा १० वर्षका भए । उनले बिहे गरेको ११ वर्ष पुग्यो । उनको ‘लभ म्यारिज’ भएको हो ।
त्यतिबेला उनका श्रीमान् गाडीमा सहचालक थिए । घर १० मिनेट वरपर । चिनजान भएको तीन वर्ष भइसकेको थियो ।
‘लभ’ परेको एक महिनामै उनैसँग बिहे भयो सुस्मिताको । प्रेम विवाह गरेकी सुस्मिताले त्यही र त्यस्तै प्रेम जीवनभरी रहिरहला भन्ने सपना साँचेकी थिइन् । तर उनको त्यो सपना तीन महिना पनि टिकेन ।
बिहे गरेको दुई तीन महिनादेखि नै रिसाउने, कुट्ने गर्न थाले श्रीमानले । दुई महिनामै सुस्मिताको पेटमा बच्चा बसिसकेको थियो । उनी श्रीमानसँग झगडा गर्न सक्ने अवस्थामा थिइनन् । ‘नभए त मैले पनि केही आँट गर्थें कि’ सुस्मिता भन्छिन् ‘त्यतिबेलै केही गर्न सकेको भए आज यस्तो दिन भोग्नु पर्दैनथ्यो होला ।’
एक वर्षमा छोरा जन्मिए । सङ्ख्या बढे पनि खर्च पुग्दै थियो । तर छोरालाई स्कूल पठाउने बेला भएपछि समस्या सुरु भयो । ‘उसलाई सुरुमा सरकारी स्कूल पठायौं, तर जानै मानेन । खाली बोर्डिङ जान्छु भनेर पढ्न जानै नमानेपछि बोर्डिङ पठाउन थाल्यौं’ सुस्मिताले भनिन् ।
छोरालाई बोर्डिङ पढाउन थालेपछि खर्च पुग्न छोड्यो । छोरालाई स्कूल भर्ना गरेकै वर्ष सुस्मिताका श्रीमान् कतार उडे खर्चको जोहो गर्न ।
विदेश गएर अढाई वर्ष बसेर घर फर्किंदा कहिलेकाहीँको ठाकठुक बाहेक अरु ठिकै थियो । तर घर फर्किएको एक महिनापछि सुस्मिताका श्रीमानको व्यवहार फेरियो ।
सुस्मिता श्रीमानको माया आफूले मात्रै पाउँ भन्ने चाहन्थिन् । तर मायाको साटो सुस्मिताले कुटपीट र दुव्र्यवहार सहनुपर्यो । डेढ वर्ष त्यसरी नै कट्यो ।
सुस्मिताका श्रीमान विदेशबाट फर्किएर ड्राइभर भइसकेका थिए । तर गाडी चलाउन जस्तो उनले घर चलाउन जानेनन् । सम्बन्ध राम्रो हुनुको साटो बिग्रिँदै थियो ।
श्रीमानले सुस्मितालाई उपचार नै गर्नुपर्ने गरी कुटे । त्यसको दुई महिनापछि श्रीमानले दोस्रो बिहे गरेको खबर सुस्मिताले सुनिन् । ‘मलाई त्यसरी कुट्दा नै उसले बिहे गरिसकेको रैछ’ सुस्मिताले भनिन् ।
सोच्दै नसोचेको कुरा गाउँहरुले सुनाएका थिए उनलाई । मन कति कुँडियो त्यो बयान गर्न सुस्मितासँग शब्द नै छैन । पीडा हुँदाहुँदै पनि उनले श्रीमानलाई कान्छी पनि लिएर घरमै आउन आग्रह गरिन् । तर श्रीमानले मानेनन् । ‘छुची छेस त्यहाँ ल्यायो भने तिमीहरु मिल्दैनौ भनेर ल्याउँदिन भन्यो । हुन त आफूमाथि सौता आउँदा कसलाई खुशी लाग्छ र ।’ सुस्मिताले छुचो हुनु पर्ने कारण पनि भनिन् ।
सुस्मिताले थाहा पाएको दुई महिनासम्म उनका श्रीमान कान्छी श्रीमती लिएर पोखरातिर बसे । दोस्रो बिहे गरे पनि श्रीमानले फोन गरिरहन्थे सुस्मितालाई । फोन एकोहोरो मात्रै थियो । सुस्मिताले फोन गर्न छोडेकी थिइन् । दोस्रो बिहे गरेका श्रीमान घरै नआई फेरि विदेश हानिए ।
कमाइको स्रोत नभएपछि सुस्मिता केही काम सिकेर कमाउने योजना बनाएर बजारमा डेरा लिएर बस्न थालिन् । श्रीमान थाहै नदिई विदेश पुगे । सुस्मिताले पनि बजारमा बस्न थालेको कुरा भनिनन् ।
मलेसिया पुगेपछि भने श्रीमानले फोन गर्न थाले । ‘माया नै त होला भन्ने लागेर बोल्थें’ सुस्मिता भन्छिन् ।
सुस्मिता बजारमा बस्न थालेको कुरा मलेसिया पुगेका श्रीमानलाई अरुले सुनाइदिए । किन त्यहाँ जानुपर्यो भनेर फोनमै गाली गर्न थालेपछि बोलचाल बन्दै हुने गरी झगडा पर्यो । सुस्मिताले फोन गरेकी थिइनन् । केहीदिनमा श्रीमान् आफंैले उनलाई फोन गर्न थाले ।
बुढाबुढीको झगडा परालको आगो भने जस्तै थियो उनीहरुको झगडा । केही दिन रिसाउने अनि केही दिनमा बोल्ने । केही दिनमा कुरा मिल्यो । बोलचाल सुरु भयो ।
केही दिन अघिसम्म गाली गर्ने श्रीमानले राम्रोसँग काम सिक भन्न थाले । श्रीमानको रीस सेलाएकै मौकामा सुस्मिताले पनि काम सिक्न पैसा पठाइदिन भनिन् । श्रीमानले हुन्न भनेनन् ।
तर ४ महिनासम्म न फोन, न कुनै खबर । चार महिनामा पैसा आयो ७ हजार रुपैयाँ । श्रीमानले पठाइदिएको पैसा सुस्मिताले सोचेको भन्दा थोरै थियो । श्रीमानले कमाइ नै नभएको भन्दै त्यतिले नै पुर्याउन भनेपछि सुस्मिताले चित्त बुझाइन् ।
तर आफूलाई पैसा छैन भनेका श्रीमानले कान्छी श्रीमतीलाई पैसासँगै मोबाइल पनि पठाइदिएको थाहा पाएपछि सुस्मिताले रीस थाम्नै सकिनन् । ‘उता पैसा मोबाइल पठाइदिने अनि मलाई चाहिँ किन ढाँटेको भनेपछि फेरि झगडा पर्यो ।’ सुस्मिता भन्छिन् ‘झगडापछि फोन गर्न छोड्यो । त्यतिबेलासम्म कान्छीसँग मोबाइल नभएकाले मसँग बोलेको रहेछ । उता मोबाइल भएपछि मलाई किन फोन गर्नु पर्यो र ।’
त्यतिञ्जेल इमोमा गफ गरिरहेका श्रीमानले सुस्मितालाई ब्लक गरे । तीजमा सबै श्रीमानको सुखको कामना गर्दै ब्रत बसेका थिए । त्या भन्दा अगाडि झगडा पर्दा श्रीमानले फकाउँथे ।
तीजको बेला परेकाले त्यो पटक चाहिँ झगडाको आगो सुस्मिताले निभाउन खोजिन् । दिनभरी फोन गरिन् । राती अबेर मात्रै फोन उठाएका श्रीमानले अबदेखि कहिल्यै फोन नगर्नु भन्दै फोन काटिदिए । बुढाबुढीबिचको झगडाको आगो निभेन झनै सल्कियो ।
दुवैले एकअर्कालाई फोन गर्न छोडे । ‘उसले त्यसो भन्छ भने म पनि किन ऊ बिना बाँच्नै नसक्ने जस्तो गर्नु भनेर आँट गरेर काम गर्न थालें’ सुस्मिताले आफ्नो हिम्मत सुनाइन् । उनले सिलाइ बुनाइको काम थालिन् ।
सुस्मिताको तीजसँगै दसैँ पनि डेरामा बसेको बजारतिरै बित्यो । उनी छोरालाई माइतमा छोडेर गएकी थिइन् । सीप सिकेपछि गाउँमै सिलाईको काम गर्ने योजना बनाएर सुस्मिता फर्किइन् । गाउँ फर्किएर कपडा सिलाउने पसल खोलिन् ।
‘मलाई फोन नगर्नु भनेपनि मैले के गरिरहेको भनेर चाहिँ बुझिरहँदो रैछ’ सुस्मिताले भनिन् । त्यही कारण बजारमा बस्न जाँदाको खबर जस्तै यो खबर पनि मलेसिया पुग्न समय लागेन ।
पसल चलाउन थालेपछि सुस्मिताले कमाउन थालेकी थिइन् । सुस्मिताले कमाउन थालेको थाहा पाएपछि श्रीमानले उनीसँग बोल्न मन लागेको भन्दै छिमेकीहरलाई म्यासेज पठाउन थाले । श्रीमान श्रीमतीबीचको मनमुटाब थाहा नपाएका गाउँलेले सुस्मितालाई सोध्न थाले ‘बुढाले बोल्न खोज्दा पनि किन नबोलेको ?’
गाउँहरुसँग बोल्न मन लागेको भन्न थालेपछि सुस्मितालाई अब चाहिँ श्रीमान् सुध्रिएछन् भन्ने लाग्यो । उनले नयाँ नम्बरबाट इमोमा साथी बनाएर बोल्न थालिन् ।
पटक पटक झगडा परे पनि सुस्मिता पछि सर्नुको एउटै कारण थियो बुढाबुढीमा अलिअलि झगडा त परिहाल्छ नि भन्ने सोचाई ।
सुस्मिताले कमाउन थालेपछि श्रीमानले उनलाई फकाउन थाले । छोराको पढाइ र घर खर्चका लागि ५० हजार रुपैयाँ पठाइदिए । पैसा घर खर्चका लागि पनि भनिएको थियो । तर उनी मलेसिया जाने बेला एजेण्टलाई तिर्नुपर्ने पैसा पनि तिरिदिन भनेपछि सबैतिर पैसा तिर्दा सुस्मिताको हातमा ५ हजार रुपैयाँ मात्रै बच्यो ।
केहीदिन बोलेपछि श्रीमानले सुस्मिताको इमोको पासवर्ड मागे । सुस्मिताले धेरै परको कुरा सोचिनन् । ‘श्रीमान श्रीमतीबीचमा लुकाउनु के नै छ र भनेर मैले पासवर्ड दिएँ’ सुस्मिता भन्छिन् ।
सुस्मिताको इमोमा अरु पनि साथी थिए । श्रीमान बाहेक अरु साथीहरुसँग पनि कुरा भएको थियो । श्रीमानले त्यही कुरा निकालेर अहिलेसम्म जे भएपनि अब चाहिँ अरुसँग नबोल भने ।
सुस्मिताको इमोको चाबी अथवा पासवर्ड श्रीमानसँग थियो अनि श्रीमानको इमोको चाबी सुस्मितासँग । सम्बन्ध बिस्तारै सुध्रिँदै गयो । उनका श्रीमानले मलेसियाबाटै कान्छी श्रीमतीलाई पनि सँगै राख्न लगाए ।
दुवै श्रीमती एउटै घरमा थिए । दुवै जनासँग इमोमै कुरा गरिरहन्थे सुस्मिताका श्रीमान् । एक दिन कुरा गर्ने क्रममा सुस्मितालाई लुगा खोल्न भने । उनलाई २४ वर्षको हुँदासम्म नलागेको लाज लाग्यो । ‘मेरै बुढो हो त भन्ने पनि लाग्यो’ सुस्मिता भन्छिन् ‘मैले धेरै पटक हुन्न भनें, तर मेरो केही लागेन’श्रीमानले जिद्दी गरेपछि सुस्मिताले श्रीमानले भनेजस्तै गरिन् ।
इमोमा त्यसरी गफ गरेको केही दिनमा श्रीमानले निहुँ खोज्न थाले । श्रीमानले उनलाई आफूसँग नबोलेको बेला मान्छे फेरेर घुम्न गएको आरोप लगाए । हरेक दिनका आरोप सुस्मितालाई सहन गाह्रो भयो । ‘उसले मलाई माइत जाँदा बाउसँगै बसेर आइस भन्थ्यो अनि बहिनीको जाँदा ज्वाईंसँग बस्न गएकी होस भन्थ्यो’ बुवा र ज्वाईंसँग जोडेर लाञ्छना लगाउँदाका कुरा सुनाउँदा सुस्मिताका आँखा भरिए ।
त्यही विषयको कुराले सुस्मिता र उनका श्रीमानबीच फेरि कुराकानी बन्द भयो । त्यही निहुँमा सौता सौताको पनि झगडा हुन थाल्यो । श्रीमानले कान्छी श्रीमतीलाई बजारतिर बस्न पठाए । हिजोसम्मका श्रीमान, अब पराइ जस्तै भए । हिजोसम्म देखाएको माया कहाँ पुग्यो, सुस्मिताले ठम्याउन सकिनन् ।
सुस्मिताको इमो श्रीमानकै नियन्त्रणमा थियो । उनले त्यही इमो सुस्मिताको चरित्र हत्या गर्न प्रयोग गर्न थाले ।
एकदिन नचिनेको नम्बरबाट फोन गरेका व्यक्तिले ‘फोटोमा त देखियो हामीलाई पनि देखाउ न’ भनेपछि सुस्मिता झस्किइन् । उतिबेलै त त्यो व्यक्तिले के भनेको हो भनेर ठम्याउन गाह्रो पर्यो उनलाई । तर फोन गर्ने व्यक्तिले इमोको कुरा जोडेर कुरा गरेपछि उनले श्रीमानको कर्तुत थाहा पाइन् ।
‘त्यतिबेलै इमोबाट स्क्रिन सर्ट गरेर राखेको रहेछ मैले त अर्को मान्छेले फोनमा त्यस्तो कुरा गरेपछि मात्रै थाहा पाएँ’ सुस्मिताका भरिएका आँखा रसाए । सलले आँसु पछ्दै सुस्मिताले सुनाइन् ‘उसले मेरो त्यस्तो फोटो फेसबुक म्यासेन्जरमा पठाएर पैसा दिएपछि यो केटीले जे पनि गर्छ भनेको रैछ ।’ श्रीमानको कर्तुत सुनाउँदा सुनाउँदै सुस्मिताको आवाज गाँठो पर्यो ।
विश्वास गरेर जिन्दगी सुम्पिएका श्रीमानको कल्पनै नगरेको व्यवहारले सुस्मितालाई आत्महत्या गर्ने सोचसम्म पुर्यायो । तनावले सीमा नाघेर मर्ने सोचमा पुगेकी सुस्मिताको अवस्था छिमेककी एक महिलाले थाहा पाइन् ।
उनले मर्नु समस्याको समाधान होइन भन्दै बाटो देखाइदिएपछि सुस्मिता न्याय खोज्दै प्रहरी कार्यालय पुगिन् । जिल्लाको प्रहरीले उनलाई यस्तो घटना साइबर क्राइम भएकाले काठमाडौं जान सुझाव दियो ।
काठमाडौं आउँदै गर्दा सुस्मिताको एउटै चाहना थियो अहिले पाइरहेको तनावबाट छुट्कारा पाइयोस् । तर प्रहरीले श्रीमान् विदेशमै भएको बेला केही गर्न नसकिने भन्दै नेपाल फर्किएपछि साइबर क्राइममा मुद्दा चलाउने जवाफ दिएको छ ।
प्रहरीमा पुगेपछि समस्या केही कम होला कि भन्ने लागेको थियो । सुस्मितालाई तर प्रहरीमा उजुरी दिएको थाहा पाएका श्रीमानले तेरो नाङ्गो फोटो पुलिसलाई पनि पठाइदिन्छु भन्दै तनाव दिइरहेका छन् ।
तनावबाट टाढा हुन उनले श्रीमानलाई सबै सामाजिक सञ्जालमा ब्लक गरिसकेकी छिन् । तर साथीहरुलाई फोन गरेर उनका बारेमा नराम्रो कुरा गर्न अझै छोडेका छैनन् ।
छिमेकीको साथले सुस्मिताको आँट बढेको छ । त्यही आँटले उनी अहिले टेलर चलाइरहेकी छिन् । उनी दिनैपिच्छे गाउँहरुका मान्छेले ल्याउने लुगा सिलाउँछिन् ।
अरुका लुगा सिलाउने सुस्मिताको मन भने अरुणा लामाले गाएको गीत पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालें, त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें, यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो भने जस्तै भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।