शहीदको सम्मानका लागि देश विकासको सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

 माघ १६, २०७९ सोमबार ११:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ । सोमवार आज शहीद दिवसको अवसरमा लेनचौरमा रहेकाे शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शहीदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताउनु भयो । उहाँले  देशको र नागरिकको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर र अजर रहने बताउनु भयो । उहाँले राष्ट्र, नागरिकको प्रगति र सेवामा समर्पित हुनको लागि शहीदहरु प्रेरणाको श्रोत भएको बताउनु भयो । उहाँले माघ १६ गतेलाई मात्रै स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभइ  शहीदहरुको सपना, राष्ट्रको प्रतिष्ठा, नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्ने बताउनु भयो ।  आजको दिन शहीदहरुको सम्मानका लागि सबैले देश विकासका लागि सङ्कल्प गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छाैँ । यसको पछाडि महान शहीदहरुको त्याग र बलिदान नै प्रमुख रहेको छ । देशको र नागरिकको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरु अमर हुन्, अजर हुन्छन् । उनीहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् । अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र नागरिकको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको श्रोतको रुपमा भूमिका खेलिरहेका हुन्छौँ । माघ १६ लाई हामीले त्यसै रुपमा स्मरण गर्ने गर्छाैँ । स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान शहीदहरुका सपना, राष्ट्रको प्रतिष्ठा, नागरिकको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो । म यही सङ्कल्पको निम्ति सबैसँग अपिल गर्दछु ।’

प्रधानमन्त्री दाहालले  शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदहरुको शालिकमा माल्यार्पण समेत गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया