सांसदहरूले बैठक छाेडेर हिँडेकाे देख्दा 'इरिटेट' लाग्छ, नागरिकलाई के जवाफ दिने ? : उपसभामुख

 फागुन १६, २०७९ मंगलबार १९:२७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरू बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरू प्रतिनिधि सभा बैठक छाेडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले सांसदहरू बैठक छाेडेर हिँडेकाे देख्दा आफूलाई 'इरिटेट' हुने गरेको र आफ्नो 'प्रेसर' पनि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरू लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खाली खाली सिट हुन्छ । मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदा लिँदा पनि इरिटेट हुन्छ । मलाई त प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन । म जे पनि काम गर्छु, अनुशासित भएर काम गर्छु । मन दिएर, दिल दिएर काम गर्छु । तर कति माननीयज्यूहरू नआउँदा मलाई एकदमै दुःख लाग्छ ।’

उपसभामुख रानाले सांसद अनुपस्थितिको बारेमा नागरिकलाई के जवाफ दिने भनी प्रश्नसमेत गर्नुभयो । उहाँले संसदमा नागरिकका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने तथा विधेयकहरू बनाउने पनि बताउनुभयो । 

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । आफु उपसभामुखको रूपमा काठमाण्डाैमा मात्र नबसी नागरिकका कुराहरू सुन्न जिल्ला–जिल्लामा पुग्ने उहाँले उल्लेख गर्नुभयो । 

उपसभामुख रानाले महिलाहरू समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुलारूपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताउनुभयो । राज्यका निकायमा ५० प्रतिशत महिला पुर्‍याउन प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । महिलाहरू पार्टीको 'रबर स्ट्याम्प' बन्न नहुने उहाँले बताउनुभयो । सीमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानुन नबनाएको देखेर आफू राजनीतिमा आएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया