क्रिकेट लिग–२ को अन्तिम श्रृंखला भोलिदेखि : बाँकी चार वटै खेल जित्ने नेपालको लक्ष्य

 फागुन २४, २०७९ बुधबार ९:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम श्रृंखला भोलिदेखि नेपालमा सुरु हुँदैछ।

नेपाल, युएई र पपुवा न्युगिनी (पीएनजी) बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला किर्तिपुर मैदानमा हुन लागेको हो । भोलिदेखि सुरु हुने यो श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको तय हुनेछ ।

घरेलु मैदानमा हुन लागेको श्रृंखलामा नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन विश्वकप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ ।

भोलि नेपालले पीएनजीसँग, आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।

यो श्रृंखलाका सबै चार खेल जित्न सके घरेलु टोली नेपाल सोझै विश्वकप छनोटमा पुग्नेछ भने एकदिवसीय मान्यता पनि कायमै रहनेछ ।

यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।

त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्न अबका ४ खेलमध्ये २ खेल जिते पुग्नेछ ।

युएईमा भएको श्रृंखलामा नेपाल तीन जितका साथ अङ्कतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ  ।

नेपालले त्यसअघि स्कटल्यान्ड र नामिबियासम्मिलित घरेलु शृंखलामा ४–० को ‘क्लिन स्विप’ गरेको थियो । अहिले पनि यहि लयलाई कायम राख्ने नेपालको लक्ष्य छ । 

तालिकामा स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष र ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ९ अङ्कसहित पुछारमा छ  । अहिले नामिबिया ३९ अङ्कसहित तेस्रो र अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छन् ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले पीएनजी र युएईसँग खेल्ने १४ सदस्य नेपाली टोलीको घोषणा गरेको छ । नेपालले यसअघि युएई भ्रमण गरेका मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको छ । अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीमा फर्किएका छन् ।

यस्ताे छ नेपालको टोली ः

कप्तान–रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया