भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
कैलाली – केही वर्ष अघिसम्म पनि दसैँ सुरु हुनुअघि नै थारु बस्तीमा सखिया नाचको रौनक सुरु हुन्थ्यो ।
उनीहरु गाउँभरिका मानिसहरु एक भएर सखिया नाचको तयारी गर्न थाल्थे र थारुको अटवारी पर्वको दोस्रो दिनदेखि तिहारसम्म सखिया नाच गरेर रमाइलो गर्थे । दिनभरि खेतबारीमा काम गरेर बेलुकी सखियाको रमाइलोले उनीहरु आफ्नो थकाइ मार्थे । बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी नाच्ने युवतीहरू, मादल बजाउने युवा र हेर्न जानेहरूले गर्दा बस्ती नै उल्लासमय हुन्थ्यो ।
‘तर हिजोआज थारु बस्तीमा सखिया नाचको धुन बिरलै सुन्न पाइन्छ’, धनगढी उपमहानगरपालिका ७ पटेलाकी पार्वती चौधरीले भन्नुभयो, ‘नाचको सुरूआत गर्नुपूर्व गुरुवाको आदेश अनुसार विशेष किसिमको पूजा हुन्छ । दुष्टात्माको भवितव्यबाट बचाउन गुरुवाले गाउँको देवताको पूजा गरेपछि सखिया नाच सुरु हुन्छ ।’
सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन । थारु समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको छ । उहाँले भन्नुभयो, ‘यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य गरिन्छ ।’
थारु संस्कृतिको फरक पहिचान बोकेको सखिया नाच अहिले भने हराउँदै जान थालेको भन्दै थारु बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् । पटेला गाउँका भलमन्सा सुनिता चौधरीले भन्नुभयो, ‘बस्तीमा अहिले मादल बजाउने र गीत गाउन जान्ने मान्छेको कमी हुन थालेको छ ।’
केही युवा पुस्ता पढाईको सिलसिलामा घर बाहिर भएका कारण त, केही युवा पैसा कमाउन देश विदेश गएका कारण पनि अहिले थारु बस्तीमा सखियाको धुन सुन्न नपाइएको हो । गाउँमा भएका युवा पुस्ता पनि सखिया नाचको महत्वबारे अनभिज्ञ देखिन्छन् । सोही गाउँका युवा उमेश चौधरीले भन्नुभयो, ‘साँझ आमा र दिदीहरु सखिया नाच गर्दै गीत गाउँछन, यो बारे खासै थाहा नभए पनि म हेर्न जाने गर्छु ।’
धेरै युवा सखिया नाचबारे अनभिज्ञ भैरहँदा केही युवा भने सखिया नाच हेर्न शहरबाट गाउँ फर्किने गरेका छन । २३ वर्षीया जीवीका चौधरीले भन्नुभयो, ‘सरकारले पनि हामीहरुलाई संस्कृति जोगाउन सहयोग गरेको छ’, उहाँले थप्नुभयो, ‘म दसैँका बेला प्रत्येक वर्ष सखिया नाच हेर्न र नाच्न गाउँ फर्किन्छु ।’ दसैँका बेला मात्रै होइन, विभिन्न महोत्सवहरुमा पनि आफूले साथीहरुलाई जम्मा गरेर सखिया नाच प्रस्तुत गर्ने गरेको बताउनुहुन्छ ।
दसैँ तिहारमा खेलिने थारुहरुको सखिया नाच अहिले लोप हुँदै गएको छ । पहिले दसैँ सुरु हुनुभन्दा केही दिन अघिदेखि सुरु हुने यो नाच एक महिनासम्म हुने गथ्र्यो । गाउँका गुरुवा धर्मबहादुर चौधरीले निराश हुँदै भन्नुभयो, ‘सखिया नाच अहिले हराउँदै जान थालेको छ ।
नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्सँदै जान थालेका छन् । माघमा नाचिँने मघौटा नाच र दसैँका बेला नाचिने सखिया नाच हामी थारुहरुको चर्चित र निकै रमाइलो नाच हुन् ।’
‘पहिले अटवारीको व्रत बारिसकेपछि लगत्तै सखिया नाच सुरु हुन्थ्यो’, सञ्चराम चौधरीले भन्नुभयो, ‘हामीहरु आफ्नो संस्कृति रहिरहोस भन्न चाहन्छौं तर यो विस्तारै लोप हुँदै गइरहेको छ ।’ सखिया गीतमा कृष्ण लीलाको आरम्भबाट अन्त्यसम्म गाउने गरिन्छ, धनगढी उपमहानगरपालिका ५ कि जोधौनी चौधरीले भन्नुभयो, ‘खोई किन यो वर्ष हाम्रो गाउँका भलमन्साले नै सखिया नाच खेल्न मान्नुभएन ।’
धनगढी उपमहानगरपालिका ५ कै लक्ष्मी चौधरीले जोधौनी चौधरीकै कुरामा थप्दै भन्नुभयो, ‘अहिले ठेट सखिया नाच पूर्ण रुपमा हराउन थालेको छ । पहिलेको मान्यता अनुसार आधा कृष्ण लीला गायो भने नराम्रो हुन्छ भन्ने मान्याता थियो । तर हिजो आज कसैले पनि पूरा कृष्ण लीला गाउँदैनन् ।’
‘पहिले हामी सखियामा पूरा कृष्ण लीला गाउन नभ्याए मनमनै गुनगुनाएर पनि त्यो पूरा गर्थ्यौ । तर अहिले रमाईलोको लागि थोरै थोरै गाउने गर्छन’, उहाँले भन्नुभयो । कतिपय युवा पुस्ता अहिले सखिया नाच बिर्सेर डिजे डान्समा रमाउने गरेका छन् । जसका कारण अहिले थारु जातिका युवाहरुमा पनि डिजे प्रतिको आकर्षण बढ्दै गएको पाइन्छ । यो परिपाटीले परम्परागत नाचमा धक्का पुग्ने खतरा रहेको छ ।
सबैको लोकप्रिय सखिया नाचले थारु समुदायको मौलिक पहिचान बोक्ने भएकोले यसलाई निरन्तर दिई जीवन्त राख्नुपर्नेमा थारु बुद्धिजीवीहरूको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।